गोरखा–२ मा बाबुरामको तालमेल प्रयास असफल, लेखनाथ पछि नहट्ने अडानमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । गोरखा क्षेत्र नम्बर २ मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेसँग चुनावी तालमेलको प्रयास गरे पनि सहमति जुट्न सकेन । न्यौपानेले आफू चुनावी प्रक्रियामा धेरै अघि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता नलिने स्पष्ट पारेका छन् ।
२०७४ सालको निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका बाबुरामले २०७९ सालको चुनावमा सो क्षेत्र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छाडेका थिए । यसपटक प्रचण्ड रुकुम पूर्वबाट उम्मेदवार बनेपछि गोरखा–२ मा नेपाली कम्युनिष्ट पार्टीले अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको हो ।
प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका बाबुराम र लामो समयदेखि उनीसँग नजिक रहेका लेखनाथ एउटै क्षेत्रमा प्रतिस्पर्धामा उत्रिँदा राजनीतिक समीकरण चासोको विषय बनेको छ । गोरखा–२ मा कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, एमालेबाट चक्रे मिलन र रास्वपाबाट कविन्द्र बुर्लाकोटी पनि चुनावी मैदानमा छन् ।
निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न बाबुरामले काठमाडौं पुगेर नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डसँग भेटघाट गरेका छन् । स्रोतका अनुसार उक्त भेटमा बाबुरामले लेखनाथको उम्मेदवारी फिर्ता गराई सहयोग गर्न आग्रह गरेका थिए ।
यता, लेखनाथ न्यौपानेले भने चुनावी अभियान तीव्र भइसकेकाले पछि हट्ने कुनै सम्भावना नरहेको बताएका छन् । उनले अहिलेसम्म अवसर नपाएका कार्यकर्ता तथा समर्थकहरू आफूमा केन्द्रित हुँदै गएको र यस्तो अवस्थामा उम्मेदवारी फिर्ता लिनु पार्टीकै लागि घाटा हुने बताए ।
न्यौपानेका अनुसार मनोनयन दर्ता गर्नुअघि नै बाबुरामसँग छलफल भएको थियो । आफू बाबुरामकै राजनीतिक एजेण्डा बोकेर अघि बढ्न तयार रहेको बताएपछि बाबुरामले उम्मेदवारी दिन सुझाव दिएको उनको दाबी छ । “त्यसैले अब उम्मेदवारी फिर्ताको प्रश्न नै उठ्दैन,” उनले भने ।
यसैबीच, बाबुराम भट्टराईकी छोरी तथा प्रलोपा नेतृ मानुषी यमी भट्टराईले बाबुरामलाई सर्वसम्मत उम्मेदवार बनाउने प्रयासस्वरूप विभिन्न पक्षसँग छलफल भइरहेको जानकारी दिइन्। तर हालसम्म ठोस प्रगति नभएको उनको भनाइ छ । आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन रहेकाले गोरखा–२ को चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ ।













