भक्तपुर बाल सुधार गृहमा झडप: १३ घाइते, आगजनीपछि १६२ स्थानान्तरण
Prime TV News एक महिना अगाडि 
काठमाडौ । भक्तपुरको बाल सुधार गृहमा बिहीबार राति दुई समूहबीच भएको झडपमा १३ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी प्रकाश जगेबुका अनुसार झडप तब सुरु भयो जब एक पक्षले अर्को पक्षलाई हेप्ने र पिट्ने प्रयास गरेको थियो । झडपको क्रममा बाल सुधार गृहमा आगजनी समेत भएको बताइएको छ।
मध्यराति प्रहरी घटनास्थल पुगे पनि सुधार गृहभित्र रहेका बालबालिकाले ढुंगामुढा गरेपछि प्रहरी प्रवेश गर्न सकेको थिएन । डीएसपी जगेबुका अनुसार, “घाइते बालबालिकालाई उद्दार गर्न प्रहरी प्रवेश गर्दा उल्टै आक्रमण भयो र बाल सुधार गृहमा आगो लगाइयो।”
झडप अघि सुधार गृहमा १६४ जना बालबालिका थिए। आगजनीपछि १६२ जनालाई अन्य स्थानमा स्थानान्तरण गरिएको छ। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र भक्तपुरको बाल सुधार निगरानी कक्षमा राखिएको छ।
प्रहरीले घटनाको पूर्ण अनुसन्धान गरिरहेको छ र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न कदम चालिरहेको छ।













