भ्रष्टाचार निवारण र सुशासन कायमको लक्ष्य हासिल गर्न सभालाई प्रभावकारी बनाउनु पर्छः अध्यक्ष दाहाल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई उपलब्धिमूलक र प्रभावकारी बनाउने उद्देश्यले सबै राजनीतिक दलहरूको सहयोग आवश्यक रहेको बताएका छन्।
शुक्रबार १९ औँ अधिवेशनको अवसरमा शुभकामना मन्तव्य दिँदै उनले सभालाई जनताको भावना र अपेक्षाअनुसार सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। अध्यक्ष दाहालले सांसदहरूले सभाको गरिमा बढाउने र कानुन निर्माणमा तीव्रता दिने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
साथै उनले सभाले केवल कानुन निर्माणमा मात्र नभई सरकारका कामकारबाहीलाई जनमुखी र प्रभावकारी बनाउन पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए। सभाको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने नेपाल सरकार र सम्बन्धित निकायहरूलाई धन्यवाद दिन पनि उनले अवसर लिएका थिए।
अध्यक्ष दाहालले १९ औँ अधिवेशनको पूर्ण सफलताको कामना गर्दै सभाको गरिमा अभिवृद्धि आफ्नो मुख्य प्राथमिकता रहेको बताए।












