कांग्रेसले दियो नेतृत्व पुस्तान्तरणको संकेत , गगन थापा प्रधानमन्त्रीका उम्मेदवार
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले आगामी राजनीतिक नेतृत्वका लागि स्पष्ट सन्देश दिँदै पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ। शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले थापालाई उम्मेदवार घोषणा गर्ने निर्णय गरेको हो।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको प्रस्ताव बैठकले अनुमोदन गरेको हो। कांग्रेसले यो निर्णयलाई मुलुकको वर्तमान राजनीतिक अवस्था र भविष्यका चुनौतीलाई सम्बोधन गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ।
बैठकमा उपसभापति शर्माले गगन थापाले बदलिँदो समय, जनभावना र राजनीतिक स्वरलाई ऊर्जाशील तर संयमित ढंगले नेतृत्व गर्न सक्ने क्षमता राख्ने बताए। उनका अनुसार थापा केवल परिवर्तनको आवाज मात्रै नभई परिपक्व निर्णय गर्न सक्ने नेतृत्वकर्ता हुन्।
‘आवेग र उत्तेजनाले होइन, संयम र सौम्य प्रवृत्तिले मात्रै राजनीति दीर्घकालीन र सुसंस्कृत बन्न सक्छ,’ शर्माको भनाइ उद्धृत गर्दै कांग्रेसले थापामा त्यो सामर्थ्य रहेको दाबी गरेको छ। कांग्रेसले प्रधानमन्त्रीका रूपमा गगन थापाको नेतृत्वले मुलुकलाई स्थायित्व, ऊर्जा र स्पष्ट दिशाबोध दिने विश्वास व्यक्त गरेको छ।












