ब्रागासँग पराजित हुँदै नटिङ्घम फरेस्टको युरोपा लिग सपना संकटमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । युइएफए युरोपा लिग अन्तर्गत ब्रागाविरुद्धको खेलमा नटिङ्घम फरेस्टले निराशाजनक हार बेहोरेको छ। आत्मघाती गोल, पेनाल्टी मिस र रातो कार्डजस्ता दुर्भाग्यपूर्ण घटनाले भरिएको यस खेलले फरेस्टको अन्तिम १६ मा सिधै छनोट हुने सम्भावनालाई झण्डै समाप्त गरिदिएको छ।
शीर्ष आठभित्र परेर सिधै अन्तिम १६ मा पुग्ने लक्ष्यसहित मैदान उत्रिएको फरेस्ट अब लिग चरणको अन्तिम खेलमा फेरेन्कभारोसलाई हराए पनि दुई लेगको ‘प्ले-अफ’ खेल्नुपर्ने अवस्थामा पुग्ने सम्भावना बलियो बनेको छ।
खेलको ५३औँ मिनेटमा मोर्गन गिब्स र ह्वाइटले पेनाल्टीलाई सदुपयोग गर्न नसकेपछि फरेस्ट दबाबमा पर्यो। त्यसको ठीक ५५ सेकेन्डपछि कप्तान रायन येट्सबाट आत्मघाती गोल हुँदा ब्रागाले अग्रता लियो। प्रशिक्षक सन डाइचले यस घटनाक्रमलाई ‘एक मिनेटको पागलपन’ भन्दै आलोचना गरेका छन्। उनका अनुसार पेनाल्टी चुकाएपछि टोली मानसिक रूपमा सम्हालिन नसक्दा हार टार्न सकिएन।
यो हार फरेस्टका लागि अझ पीडादायी यस कारण पनि रह्यो कि ब्रागाले खेलभरि विपक्षीको पोस्टमा एउटै पनि ‘टार्गेटमा’ प्रहार नगरी जित दर्ता गर्यो। युरोपा लिगको इतिहासमा यसरी जित हात पार्ने ब्रागा दोस्रो टोली बनेको छ।
फरेस्टको कमजोर प्रदर्शनप्रति समर्थकहरू पनि असन्तुष्ट देखिए। हाफ टाइम र खेल सकिएपछि मैदानमा उपस्थित समर्थकहरूले आफ्नै टोलीलाई हुटिङ गर्दै आक्रोश व्यक्त गरेका थिए। यद्यपि ब्रागाको आक्रमण पनि प्रभावशाली देखिएन ।
तर नटिङ्घम फरेस्टको असंगठित खेल, अवसरको सदुपयोग गर्न नसक्ने कमजोरी र अनुशासनहीनताले अन्ततः हार निम्त्यायो। अब फरेस्टका लागि युरोपा लिगमा अगाडि बढ्ने बाटो झनै कठिन बनेको छ ।













