महावीर पुनलाई ‘त्रिभुज’ चुनाव चिह्न
Prime TV News एक महिना अगाडि 
म्याग्दी । म्याग्दी जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले ‘त्रिभुज’ चुनाव चिह्न पाएका छन्।
शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पुनले निर्वाचन आयोगले उपलब्ध गराएको सूचि मध्येबाट उक्त चिह्न रोजेका हुन्। चिह्न छनोट प्रक्रिया पूरा भएपछि आयोगले उनलाई औपचारिक रूपमा त्रिभुज चुनाव चिह्न प्रदान गरेको जनाएको छ।
निर्वाचन आयोगले केही चिह्नहरू प्रयोग गर्न नमिल्ने भन्दै प्रतिबन्धित सूचीमा राखेको छ। त्यसबाहेक आयोगले स्वीकृत गरेका चिह्नहरूमध्येबाट स्वतन्त्र उम्मेदवारहरूले आफूअनुकूल चिह्न रोज्न पाउने व्यवस्था गरिएको छ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर प्रत्यक्षतर्फ ३ हजार ३८७ जनाको उम्मेदवारी परेको छ। आयोगका अनुसार तीमध्ये १ हजार १८८ जना स्वतन्त्र उम्मेदवार रहेका छन्, जुन कुल उम्मेदवारको करिब ३४ प्रतिशत हो। बाँकी २ हजार २९९ जना विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका छन्।
निर्वाचन आयोगले यहि ६ माघमा उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न गरिसकेको छ। आज स्वतन्त्र उम्मेदवारहरूका लागि चुनाव चिह्न वितरणको कार्यतालिका रहेको छ भने दलीय उम्मेदवारहरूले सम्बन्धित दलकै चुनाव चिह्न प्रयोग गर्नेछन्।












