बदल्यौँ कांग्रेस, बदल्छौँ देशः सभापति नेपाली कांग्रेस
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले नयाँ नेतृत्वसहित औपचारिक रूपमा काम सुरु गरेको छ। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाले पदबहालीसँगै पार्टी सुधार र देश निर्माणलाई केन्द्रमा राख्दै आफ्नो पहिलो निर्णय सार्वजनिक गरेका छन्।
पार्टी कार्यालय सानेपामा आयोजित पदबहाली कार्यक्रममा थापाले पहिलो हस्ताक्षर पार्टीको प्रतिबद्धतामा गर्दै कांग्रेसलाई नयाँ दिशामा लैजाने संकेत दिएका हुन्। उनले हस्ताक्षर गरेको प्रतिबद्धतामा पार्टी रूपान्तरण र राष्ट्रिय समुन्नतिलाई साझा लक्ष्यका रूपमा उल्लेख गरिएको छ।
प्रतिबद्धतामा ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने मूल नारासहित नयाँ राजनीतिक यात्राको घोषणा गरिएको छ। देशको समग्र विकास र सुशासन नै अबको प्रमुख ध्येय हुने सन्देश दस्तावेजमार्फत दिइएको छ।
पदबहालीपछि विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि पार्टी कार्यालयमै सुरु भएको छ। बैठकमा संगठन सुदृढीकरण, आन्तरिक सुधार र आगामी राजनीतिक कार्यदिशाबारे छलफल हुने जनाइएको छ।
गत पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा १३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो ।













