प्रतिनिधि सभा निर्वाचनमा ३ हजारभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा देशभर ३ हजार ४०६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन्।
निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार उम्मेदवारमध्ये ३ हजार १७ जना पुरुष, ३८८ जना महिला र १ जना अन्य समूहका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रक्रियाका सबै चरण निर्धारित कार्यतालिकाअनुसार सम्पन्न भएको जानकारी दिए।
उम्मेदवारी दर्ता, उजुरी, जाँचबुझ तथा उम्मेदवारी फिर्ता लिने कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ। आयोगका अनुसार निर्वाचन प्रक्रियामा राजनीतिक दल र उम्मेदवारको सहभागिता उल्लेखनीय देखिएको छ।
यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको प्रारम्भिक नामावलीसमेत प्रकाशित भइसकेको छ। सो नामावलीमाथि माघ १० गतेसम्म दाबी विरोध गर्न सकिने व्यवस्था गरिएको छ।
राजनीतिक दलहरूले समानुपातिक प्रणालीअन्तर्गत पुस १३ र १४ गते बन्दसूची बुझाएका थिए। दाबी विरोधको समय सकिएपछि समानुपातिकतर्फको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।











