सल्यानका उम्मेदवार मल्लले सहिदका बुवासँग आशिर्वाद लिदै शुरु गरे चुनावी अभियान

User Image Prime TV News एक महिना अगाडि
Image of सल्यानका उम्मेदवार मल्लले सहिदका बुवासँग आशिर्वाद लिदै शुरु गरे चुनावी अभियान

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी सल्यानका उम्मेदवार रमेश मल्लले सहिदका बुवासँग आशिर्वाद लिएर चुनावी अभियान शुरु गरेका छन्।

मल्लले बागचौर नगरपालिका वडा नं २ बागचौरस्थित सहिद खिमबहादुर डिसीका बुवा चुडामणि डाँगीको हातबाट टीका ग्रहण गरी चुनावी अभियान शुरु गरेका हुन्।

सहिदका बुवाको हातबाट टीका ग्रहण गरी चुनावी अभियानको शुरु गरेको जानकारी दिदै मल्लले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “आदरणीय सहिद खिमबहादुर डिसीका पूजनीय बुवा चुडामणि डाँगीको हातबाट टीका ग्रहण गरी आशीर्वाद लिँदै मैले आफ्नो निर्वाचन अभियानको शुभारम्भ गरेको छु।”

देशभरका जनक्रान्तिका सहिद, बेपत्ता योद्धा तथा घाइते योद्धा र उहाँका परिवारजनप्रति सम्मान गर्दै आफूले प्रतिनिधि सभा सदस्य निर्वाचन अभियानमा सल्यानी जनताको साथ र सहयोग रहनेमा विश्वस्त रहेको बताएका छन्।

उनले चुनावी अभियानमा सपना बाँड्ने भन्दा काम गरेर देखाउने भन्दै सल्यानको विकास र सल्यानी जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। सहिद डिसीलाई तत्कालीन राज्य पक्षले २०५४ फागुन १४ गते बागचौरमा विद्यार्थी संगठनद्वारा आयोजित बलिदान दिवस मनाउने क्रममा हत्या गरेको थियो।

डिसीसँगै विद्यार्थी नेता धनबहादुर थापा र तत्कालीन थारमारे गाविस अध्यक्ष तथा मानवअधिकारकर्मी हेमराज केसी पनि मारिएका थिए।