महेश्वर दाहालको स्वतन्त्र उम्मेदवारीले पार्टी नेतृत्वलाई खुला चुनौती
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सिन्धुली क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टीका नेता महेश्वर दाहालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएसँगै आफ्नो उम्मेदवारी कुनै पद, सौदाबाजी वा बार्गेनिङका लागि नभई पतनतर्फ धकेलिएको पार्टी नेतृत्वविरुद्धको खुला विद्रोह भएको बताएका छन्।
प्रेस नोटमार्फत दाहालले हालको कम्युनिस्ट नेतृत्व पद्धतिविहीन, दिशाहीन र राजनीतिक चरित्रबाट चिप्लिएको आरोप लगाएका छन्। उनले भनेका छन्, “यो कदम कुर्सीमा पुग्नका लागि होइन, कम्युनिस्ट आन्दोलनलाई खोक्रो बनाउने नेतृत्वविरुद्धको प्रतिरोध हो।”
दाहालले आफ्नो पहलले सिंगो देशलाई नेतृत्व गर्ने दाबी नगरे पनि कम्युनिस्ट आन्दोलनमा व्याप्त मूल्यहीनता, मुद्दाविहीनता र निरन्तर पतनलाई रोक्ने प्रयत्न सिन्धुलीबाट सुरु भएको उल्लेख गरेका छन्।
उनले यस कदमको परिणामस्वरूप आफू कारबाहीमा पर्न सक्ने, गद्दारको आरोप लाग्ने र पार्टीबाट निकालिन सक्ने स्वीकार गरेका छन्। तर, कम्युनिष्ट आदर्श र राजनीतिक प्रतिबद्धताबाट पछि नहट्ने उनको स्पष्ट अडान छ।
उनका अनुसार कम्युनिष्ट आन्दोलनको मूल बाटो मजदुर, किसान र उत्पीडित वर्गप्रतिको सिद्धान्तनिष्ठ प्रतिबद्धता हो, जुन आजको नेतृत्वले त्यागिसकेको छ। “हामीले आन्दोलनलाई त्यही मूल धारमा फर्काउन खोजेका हौँ, र त्यो कुरा इतिहासले प्रमाणित गर्नेछ,” दाहालले बताएका छन्।
जिल्ला कमिटीले उम्मेदवारका रूपमा सिफारिस गरे पनि केन्द्रिय नेतृत्वले अर्कैलाई टिकट दिएपछि दाहालले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। यस घटनाले पार्टीभित्र आन्तरिक लोकतन्त्र, निर्णय प्रक्रियाको पारदर्शिता र नेतृत्वको नैतिक धरातलमाथि गम्भीर प्रश्न उठाएको छ।
दाहालको प्रेस नोट:-
फरक फरक प्राकृतिक दृश्य बोकेको चुरेका खोँचहरूदेखि महाभारतका अग्ला डाँडाहरू, गढी पर्वत शृङ्खला र नेपालकै ठूला नदीमध्ये एक सुनकोशी आफूमा समाहित भएको सिन्धुली देख्नमा जति सुन्दर छ, यसको वैभव र सम्पदा पनि त्यत्तिकै गौरव गर्न लायक छ। मरिण, कमला र चदाहाको किनारमा बस्ने किसानहरूदेखि लिएर महाभारतका कुनाकाप्चा तथा गडतिरमा बस्ने पौरखी सबै जनताको बीचमा त्यो गौरवको इतिहास छ।
प्रजातान्त्रिक आन्दोलनको प्रारम्भमा नै बर्माबाट मार्क्सवादमा दीक्षित भएर आएका योद्धा एसबी राईले वासुदेव श्रेष्ठ लगायतका पुराना पिढीसँग मिलेर कम्युनिस्ट आन्दोलन सुरू गरेको ठाउँ हो यो। जुन बेला कम्युनिस्ट आन्दोलन दक्षिणपन्थी दिशामा खुम्चिरहेको थियो त्यो बेलामा यहाँ दावानल सुरू गर्न ३० को दशकमा ऋषि देवकोटा आजाद, दुर्गा सुवेदी, दलबहादुर रजन मगर, सीपी गजुरेल, हरिबोल गजुरेल, ईश्वरी दाहाल, रामप्रसाद राई लगायत थुप्रै अग्रजहरूले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने प्रयास गर्नुभयो। त्यसपछि ४० को दशकमा राम कार्की लगायतले पनि यो माटोमा वामपन्थी आन्दोलनलाई मलजल गर्ने महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ।
४० को दशकको अन्तिमतिर त्यतिबेलाका नवयुवाहरू महेन्द्र श्रेष्ठ, शेरमान कुँवर, मोहनचन्द्र गौतम, कमल देवकोटा र उहाँहरूलाई अभिभावकत्व दिने चित्रनारायण श्रेष्ठ, खड्ग देवकोटा, दीर्घराज श्रेष्ठ जस्ता थुप्रै नेताहरूले सिन्धुलीलाई जनयुद्धको ब्याडको रूपमा विकसित गर्नुभयो। त्यही परम्परालाई पछ्याएर हामी अगाडि बढेका छौँ।
हाम्रो यो अहिलेको कदम कुनै बार्गेनिङका निम्ति, केही पद हत्याउनका निम्ति अथवा कुर्सीमा जानका लागि चालिएको कदम बिल्कुल होइन। यो त पद्धतिविहीन बनेको, पथभ्रष्ट भएको, राजनीतिक चरित्रबाट तल गिरेको नेतृत्वको विरूद्धको बगावत हो।
हामी आफ्नो ठाउँबाट यो दावा गर्दैनौँ कि सिंगो देशलाई हाम्रो कदमले नेतृत्व गर्नेछ तर सिंगो देशमा कम्युनिस्ट आन्दोलनको मूल्यविहीनता, मुद्दा विहीनता र जुन प्रकारको पतनको दिशातिर आज कम्युनिस्ट आन्दोलन गएको छ त्यसलाई विराम दिने एउटा प्रयत्न सिन्धुलीले सुरू गरेको हो। यसका परिणामहरूबारे हामी अनविज्ञ छैनौँ। हामीलाई कार्वाही गरिनेछ। गद्दार भनिनेछ। पार्टीबाट मिल्काइनेछ। तर, हामी यो मुद्दा कम्युनिस्ट आदर्श, कम्युनिस्ट राजनीतिबाट विचलित हुने छैनौँ। र, जनसमुदायका अगाडि हामी यो प्रमाणित गरि छाड्नेछौँ, वास्तवमा हामीले नै कम्युनिस्ट आन्दोलनलाई एउटा सिद्धान्तनिष्ठ मजदुर, किसान, उत्पीडित जनसमुदायप्रति प्रतिबद्ध मूलबाटोमा डोर्याउन खोजेका हौँ भन्ने कुरा इतिहासमा प्रमाणित हुनेछ।
महेश्वर दाहाल
स्वतन्त्र उम्मेदवार
सिन्धुली २












