ओलीको अन्तर्वार्तापछि एमालेभित्र असहजता : गोकुल बास्कोटाले उठाए लोकतान्त्रिक आचरणको प्रश्न
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो सार्वजनिक अभिव्यक्तिप्रति खुला असन्तुष्टि जनाएका छन्।
अध्यक्ष ओलीको पछिल्लो अन्तर्वार्ताप्रति बास्कोटाले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पार्टीभित्रको व्यवहार र राजनीतिक संस्कृतिमाथि प्रश्न उठाएका हुन्।
शनिबार फेसबुकमा लेख्दै बास्कोटाले सत्य र आग्रहको सीमा आफूले स्पष्ट रूपमा चिनेको उल्लेख गरेका छन्। “सत्य जाँचुन् कि आफ्नै आग्रह, आगो छादुन् कि बरफ बर्साउन्, त्यो मेरो विषय परेन,” उनले लेखेका छन्, “तर आफ्नो धर्म, कर्तव्य र दायित्व म भुल्न सक्दिनँ।”
उनले पूर्वाग्रह र प्रतिशोधलाई लोकतान्त्रिक राजनीति विपरीतको आचरणका रूपमा चित्रित गर्दै जननेता मदन भण्डारीको विचारलाई आफ्नो राजनीतिक मार्गदर्शनको आधार बताएका छन्। बास्कोटाको अभिव्यक्तिलाई अध्यक्ष ओलीको शैली र धारप्रति असहमतिको संकेतका रूपमा बुझिएको छ।












