मन्त्री बन्ने बेलामा नै राजनीतिमा लाग्ने बताएको थिए: कुलमान घिसिङ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको गैरदलीय सरकारमा सहभागी भएको विषय र त्यसपछि राजनीतिमा सक्रिय भएको प्रसंगलाई लिएर उठेका आलोचनालाई अस्वीकार गरेका छन्।
उनले आफूलाई पदको लोभमा सरकार छिरेको भनेर चित्रण गर्नु तथ्यहीन र नियोजित प्रचार भएको दाबी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै घिसिङले जेनजी आन्दोलनपछि देश गम्भीर राजनीतिक र प्रशासनिक संकटमा फसेको अवस्थामा आफू सरकारमा जान बाध्य भएको बताएका छन्।
उनका अनुसार राज्य संरचना लगभग कामविहीन बनेको बेला तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र आन्दोलनका अगुवाहरूको आग्रहमा मन्त्री पदको जिम्मेवारी स्वीकार गरिएको थियो।
घिसिङले सरकारमा प्रवेश गर्ने बेलामै भविष्यमा राजनीतिमा लाग्न सक्ने सम्भावनाबारे प्रधानमन्त्रीलाई स्पष्ट जानकारी गराइएको उल्लेख गरेका छन्। त्यस्तो अवस्था आए पदमा बसिरहनु अनुचित हुने र आवश्यक परे राजीनामा दिने सहमतिपछि मात्र आफूले जिम्मेवारी सम्हालेको उनको भनाइ छ।
राजनीतिक प्रश्न उठेपछि आफूले ढिला नगरी पदबाट राजीनामा दिएको स्मरण गराउँदै घिसिङले आफू कुर्सी जोगाउने प्रवृत्तिको राजनीतिमा विश्वास नगर्ने स्पष्ट पारेका छन्। “पदभन्दा जिम्मेवारी ठूलो हो,” भन्ने सन्देश उनको भनाइबाट झल्किन्छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय सम्हाल्दा ११५ दिनको अवधिमा गरिएको कामले आफ्नो नियत र क्षमताको मूल्याङ्कन गर्न सकिने उनको दाबी छ।
घिसिङले आफूविरुद्ध भ्रम सिर्जना गर्ने प्रयास भइरहेको उल्लेख गर्दै यस्ता प्रचारबाट प्रभावित नहुन आग्रह गरेका छन्। उनले उज्यालो नेपाल निर्माणको लक्ष्यसहित राजनीतिमा सक्रिय रहने प्रतिबद्धता दोहोर्याएका छन्।












