प्रतिनिधिसभा विघटन असंवैधानिक भएको कांग्रेसको ठहर

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रतिनिधिसभा विघटन असंवैधानिक भएको कांग्रेसको ठहर

काठमाडौ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै कडा आपत्ति जनाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले प्रतिनिधिसभा विघटन संविधानको मर्मविपरीत भएको ठहर गर्दै त्यसको स्पष्ट विरोध गर्ने निर्णय गरेको हो।

कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनको विपक्षमा नगएपनि निर्वाचन घोषणाको प्रक्रिया अस्वीकार्य रहेको भन्दै त्यसबारे प्रश्न उठाउने निर्णय भएको हो। उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त बैठकले निर्वाचनको मिति तोकिएको भए पनि त्यसअघिको प्रक्रिया अपारदर्शी र अवैधानिक भएकाले त्यसप्रति गम्भीर असहमति जनाएको छ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २६ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

तर, संविधानअनुसार संसदबाट बहुमत प्राप्त गर्न सक्ने दावी गर्ने सांसदहरूको समर्थन नलिई गरिएको यो नियुक्ति संविधानविपरीत भएको दलहरूको भनाइ छ। कार्कीले प्रधानमन्त्री बनेलगत्तै प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै आगामी फागुन २१ गते निर्वाचन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गरेकी थिइन्, जुन राष्ट्रपति पौडेलले सदर गरेका थिए।

कांग्रेसले अन्तरिम सरकारले निर्वाचनको घोषणा गर्दा अन्य राजनीतिक दलहरूसँग कुनै परामर्श नगरेकोमा पनि आपत्ति जनाएको छ। निर्वाचन जस्तो महत्वपूर्ण विषयमा समेत सरकार एकलौटी ढंगले अघि बढेको भन्दै कांग्रेसले असन्तोष जनाएको हो। 

यस्तै कांग्रेसले तत्काल कसैलाई पनि कार्यवाहक सभापति नदिने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनमा प्रर्दशनकारीहरुले कुटपिट पछि गम्भीर घाइते भएका छन् । देउवा अहिले उपचाररत छन् । यस्तै पार्टी भित्र पुस्तान्तरणको बहस भएपनि ततकाल विशेष महाधिवेशन नगर्ने भएको हो ।