नेतृत्वका अभिव्यक्तिहरूले निर्वाचनमा कार्यकर्ताको मनोबल घटायो: एमाले नेता पाण्डे

User Image Prime TV News एक महिना अगाडि
Image of नेतृत्वका अभिव्यक्तिहरूले निर्वाचनमा कार्यकर्ताको मनोबल घटायो: एमाले नेता पाण्डे

काठमाडौ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले निर्वाचनको संवेदनशील समयमा पार्टीभित्र विवाद बढाउने खालका सार्वजनिक टिप्पणी नगर्न नेतृत्वलाई सुझाव दिएका छन्।

टिकट वितरणको सन्दर्भमा अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै पाण्डेले चुनावी रणनीतिमा संयम र परिपक्वताको आवश्यकता औंल्याएका हुन्।

पाण्डेले यस घडीमा पार्टीलाई एकताबद्ध राख्नु नै सबैभन्दा ठूलो दायित्व भएको बताएका छन्। उनका अनुसार नेतृत्वका अभिव्यक्तिहरूले कार्यकर्ताको मनोबल घटाउने होइन, सबै तहका कार्यकर्तालाई मैदानमा उत्रिन थप ऊर्जा दिनुपर्छ।

आन्तरिक असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त गर्नु भन्दा संस्थागत निर्णय र सामूहिक विचारका आधारमा अघि बढ्नु नै राजनीतिक परिपक्वता हुने उनको भनाइ छ।

टिकट वितरणको निर्णय पार्टी हितका लागि आफूले स्वीकार गरेको स्पष्ट पार्दै पाण्डेले पूर्वाग्रही टिप्पणीले साझा लक्ष्यलाई कमजोर बनाउने चेतावनी दिएका छन्। वैचारिक असहमति भए पनि सबै नेता कार्यकर्ता एमालेकै हिस्सा भएको र मतभिन्नताका आधारमा कसैप्रति अविश्वास गर्ने संस्कार आफ्नो नभएको उनले बताएका छन्।

पाण्डेले अहिले विवादको प्रतिवादमा अल्झिनुको साटो पार्टीका उम्मेदवारहरूलाई जिताउने अभियानमा आफू सक्रिय रूपमा लागेको उल्लेख गरेका छन्। उनले सङ्गठनको साख जोगाउनु र चुनाव जित्नु नै तत्कालको प्राथमिकता भएको बताएका छन्।

यसअघि अध्यक्ष ओलीले एमालेका केही प्रभावशाली नेताहरूलाई जित सुनिश्चित नदेखिएको भन्दै टिकट नदिएको टिप्पणी गरेका थिए। त्यसपछि पार्टीभित्र आलोचना र असहजता देखिएको सन्दर्भमा पाण्डेको भनाइलाई नेतृत्वप्रति सन्तुलित तर स्पष्ट सन्देशका रूपमा लिइएको छ।