हिमपातले रुकुम पूर्व ठप्प : मध्यपहाडी लोकमार्ग बन्द, यात्रु उद्धार गर्दै
Prime TV News एक महिना अगाडि 
रुकुम । रुकुम पूर्वमा भएको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत लुकुम पातिहाल्ना खण्ड अवरुद्ध भएको छ। लगातार परेको हिउँका कारण सवारीसाधन चल्न नसक्दा यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार काठमाडौँबाट छुटेका यात्रुबाहक बसहरू समेत सोही खण्डमा फसेका छन्। अवस्था गम्भीर बन्दै गएपछि इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा उद्धार टोली परिचालन गरिएको प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले जानकारी दिए।
उनका अनुसार हिमपात अझै रोकिएको छैन। प्रमुख जिल्ला अधिकारी सीता परियारले फसेका यात्रु र सवारीसाधनलाई सुरक्षित स्थानमा ल्याउने प्रयास भइरहेको बताइन्।
उनका अनुसार भूमे गाउँपालिकासँग समन्वय गरेर स्काभेटर प्रयोग गरी हिउँ हटाउने र सडक खुलाउने तयारी भइरहेको छ। रुकुम पूर्वका हिमाली तथा उच्च लेकाली क्षेत्रमा गए रातिदेखि हिमपात जारी छ भने तल्लो भेगमा वर्षा भइरहेको छ।
अत्यधिक चिसोका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएको छ। विद्यालय, दैनिक मजदुरी र आवतजावतमा कठिनाइ देखिएको छ। यद्यपि लामो समयपछि परेको वर्षा र हिमपातले कृषकलाई भने केही राहत दिएको छ।













