आम निर्वाचनअघि नेकपामा अनुशासनको डण्डा : उम्मेदवारी विद्रोहको आरोपमा सात नेता निष्कासित
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम निर्वाचनअघि पार्टी अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै हरिबोल गजुरेलसहित सात जना नेतालाई पार्टी सदस्यताबाट निष्कासन गरेको छ।
पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको र त्यसलाई सघाएको आरोपमा उनीहरूमाथि कडा कारबाही गरिएको हो।
पार्टीले सार्वजनिक गरेको विज्ञप्तिमा आधिकारिक उम्मेदवार तोकिएका निर्वाचन क्षेत्रमा पार्टी निर्णय र निर्देशनको अवज्ञा गर्दै उम्मेदवार बनेका तथा त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक र प्रचारक बनेकाहरूलाई पार्टी विधानको दफा १०६ अनुसार निष्कासन गरिएको स्पष्ट उल्लेख गरिएको छ।
निष्कासनमा पर्नेमा हरिबोल गजुरेल, महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह (सिराहा), राजकुमारी साह (सिराहा) र जिवछ साह (सिराहा) रहेका छन्। पार्टीका अनुसार दाहालले सिन्धुली–२ बाट र केसीले दाङ–१ बाट पार्टी निर्णयविपरीत उम्मेदवारी दिएका थिए।
पार्टी नेतृत्वले यस कदमलाई संगठनात्मक अनुशासन र चुनावी एकता कायम गर्न आवश्यक निर्णयको रूपमा प्रस्तुत गरेको छ। तर, यस घटनाले पार्टीभित्र लामो समयदेखि देखिँदै आएको असन्तोष, टिकट वितरणप्रतिको विवाद र नेतृत्वसँगको टकराव पुनः सतहमा आएको देखिएको छ।













