निष्कासनमा परेका हरिबोल गजुरेलले भने: ‘विधि मिच्ने प्रचण्डलाई जोगाएर अरूलाई कारबाही अन्यायपूर्ण’

User Image Prime TV News एक महिना अगाडि
Image of निष्कासनमा परेका हरिबोल गजुरेलले भने: ‘विधि मिच्ने प्रचण्डलाई जोगाएर अरूलाई कारबाही अन्यायपूर्ण’

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीबाट निष्कासनमा परेका नेता हरिबोल गजुरेलले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै विधि, पद्धति र प्रक्रिया उल्लङ्घन गर्ने मुख्य व्यक्ति भएको आरोप लगाएका छन्।

उनले पार्टीभित्र अनुशासनको कुरा गर्नुपरे सबैभन्दा पहिले प्रचण्डमाथि नै कारबाही हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको तथा प्रस्तावक र समर्थक बनेको आरोपमा नेकपाले शनिबार गजुरेलसहित सात जना नेतालाई पार्टीबाट निष्कासन गरेको थियो।

सो निर्णय सार्वजनिक भएपछि गजुरेलले सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै पार्टी नेतृत्वको निर्णयप्रक्रियामाथि कडा प्रश्न उठाएका हुन्। गजुरेलका अनुसार सिन्धुली जिल्ला पार्टीले गरेको सिफारिस र निर्णयलाई बेवास्ता गर्दै प्रचण्डले एकल निर्णयको आधारमा उम्मेदवार चयन गरेका थिए।

उनले यस्तो कार्यशैलीलाई मनोमानी, अहङ्कारवादी र व्यक्तिवादी प्रवृत्तिको संज्ञा दिएका छन्। “जिल्ला पार्टीको निर्णय उल्लङ्घन गर्ने पहिलो व्यक्ति नेतृत्व स्वयं हो,” उनले भने, “त्यसपछि अरूलाई अनुशासनको पाठ पढाउनु हास्यास्पद हो।”

उनले विधि र पद्धति मिच्ने नेतृत्वलाई उन्मुक्ति दिई असहमति जनाउने नेताहरूलाई मात्र कारबाही गर्नु न्यायसंगत नहुने तर्क गरे। गजुरेलका अनुसार नेतृत्वलाई कारबाहीको दायरामा ल्याएपछि मात्र अन्य नेताहरूको विषयमा छलफल गर्नु नै उचित हुन्छ।

प्रचण्डको नेतृत्वशैलीले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाएको र संगठनभित्र डरको वातावरण सिर्जना गरेको दाबी पनि गजुरेलले गरेका छन्। उनका अनुसार अनुशासनको नाममा गरिएको यो निष्कासन वास्तवमा नेतृत्वविरुद्ध उठेको आवाज दबाउने प्रयास हो।