नयाँ दलको भ्रमले होइन, जनताको सत्ता बदल्ने संघर्षले मात्र निकास दिन्छ: विप्लव

User Image Prime TV News एक महिना अगाडि
Image of नयाँ दलको भ्रमले होइन, जनताको सत्ता बदल्ने संघर्षले मात्र निकास दिन्छ: विप्लव

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुराना दल असफल भएकाले नयाँ दल आवश्यक छ भन्ने बहसलाई भ्रामक र दिशाहीन राजनीति भएको बताएका छन् ।

उनले यस्तो नारा जनतालाई वास्तविक समस्याबाट टाढा राख्ने रणनीति मात्र भएको दाबी गरेका छन्। शनिबार आयोजित पार्टीको निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै विप्लवले देशको संकट दलको संख्या वा नामसँग नभई राज्यसत्ताको चरित्रसँग जोडिएको स्पष्ट पारे।

उनका अनुसार जनताको सेवा गर्ने, न्यायपूर्ण निर्णय लिने र जनउत्तरदायी सत्ता नै अहिलेको मूल आवश्यकता हो। उनले नयाँ–पुराना दलको बहस सत्ताको मूल प्रश्न ओझेल पार्न जानाजान फैलाइएको हल्ला भएको उल्लेख गरे।

पुराना दलले भ्रष्टाचार, विकृति र सत्ताको दुरुपयोग गरेको स्वीकार गर्दै उनले भने, “तर नयाँ दल आयो भन्दैमा व्यवस्था आफैं सुध्रिन्छ भन्ने सोच भ्रम हो।”

विप्लवका अनुसार नयाँ दलप्रति जनतामा देखिएको आशा पुराना दलको असफलताबाट जन्मिएको भए पनि पुरानो राज्य संरचना जस्ताको तस्तै रहँदा नयाँ दल पनि अन्ततः त्यही चक्रमा फस्ने खतरा रहन्छ।

उनले राजनीतिक संघर्षको केन्द्रीय मुद्दा पुराना र नयाँ दलबीचको टकराव नभई जनविरोधी सत्ता र जनताको बीचको संघर्ष भएको बताए।