सर्लाही–४ बाट उम्मेदवारी दिने निर्णय योजनाबद्ध: सभापति थापा

User Image Prime TV News एक महिना अगाडि
Image of सर्लाही–४ बाट उम्मेदवारी दिने निर्णय योजनाबद्ध: सभापति थापा

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिने निर्णय योजनाबद्ध र सोचविचारपछि गरिएको बताएका छन्।

काठमाडौँमा तीन पटक लगातार जित हासिल गरिसकेको अवस्थामा पनि आफूले सुरक्षित बाटो नअपनाई राजनीतिक जोखिम रोजेको उनको भनाइ छ।

थापाका अनुसार काठमाडौँ कि सर्लाही भन्ने विषय लामो समय अनिश्चित रहँदा अन्य दलहरू समेत उम्मेदवार टुंग्याउन नसक्ने अवस्थामा पुगेका थिए।

उनले आफू काठमाडौँ नलड्ने स्पष्ट गरेपछि मात्र नयाँ र पुराना दलहरूले त्यहाँ उम्मेदवारी दर्ता गराएको दाबी गरे। यसबाट आफ्नै निर्णयले चुनावी समीकरणमा प्रत्यक्ष प्रभाव पारेको उनको तर्क छ।

काठमाडौँका मतदातालाई आफूले चित्तबुझ्दो जवाफ दिन नसकेको स्वीकार गर्दै थापाले यो कमजोरी लुकाउन खोजेनन्। बरु उनले अघिल्लो निर्वाचनदेखि नै मधेस केन्द्रित राजनीति गर्न चाहेको तर अहिले आएर मात्र त्यसको आँट जुटाएको स्पष्ट पारे।

उनले मधेसमा गएर चुनाव लड्नु सहज निर्णय होइन, तर पार्टी र देशको दीर्घकालीन राजनीतिका लागि आवश्यक कदम भएकाे बताए । 

राजनीतिक विश्लेषकहरू भने यस निर्णयलाई साहसिक मात्र नभई जोखिमपूर्ण पनि मानिरहेका छन्। काठमाडौँजस्तो बलियो आधार छाडेर सर्लाही–४ रोज्नु लोकप्रियतामाथि गरिएको ठुलो दाउ हो। सफल भए थापाको राजनीतिक उचाइ अझ बढ्नेछ, असफल भए त्यसको मूल्य निकै महँगो पर्नेछ। चुनावी मैदानले अब यो निर्णय दूरदर्शी थियो कि हतारो, त्यसको कठोर फैसला गर्नेछ।