ओलीको आह्वानः 'चुनावले विनाश कि निर्माण छान्नेछ, एमाले जित्नैपर्छ'

User Image Prime TV News एक महिना अगाडि
Image of ओलीको आह्वानः 'चुनावले विनाश कि निर्माण छान्नेछ, एमाले जित्नैपर्छ'

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित सदस्यलाई पत्र पठाउँदै आसन्न निर्वाचन निर्णायक मोडमा पुगेको दाबी गरेका छन्। उनले निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको बाटोमा लैजाने भन्ने फैसला गर्ने स्पष्ट सन्देश दिएका छन्।

शनिबार साँझ अध्यक्ष ओलीले करिब ६ लाख ६३ हजार सङ्गठित सदस्यलाई पठाएको पत्रमा देश निर्माणका लागि एमालेको बहुमत अपरिहार्य रहेको उल्लेख गरिएको छ।

उनले बहुमत हासिल गर्न पार्टीका उम्मेदवारको विजय अनिवार्य रहेको जनाउँदै त्यसका लागि सबै सदस्यले उच्च मनोबलका साथ सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन्।

ओलीले पत्रमा पार्टीका उम्मेदवार जिताउन सङ्गठित सदस्यहरूको जिम्मेवारी निर्णायक हुने उल्लेख गर्दै सक्रिय सहयोगको अपेक्षा गरेका छन्। उनले निर्वाचनलाई सामान्य प्रतिस्पर्धा नभई देशको भविष्य तय गर्ने लडाइँको रूपमा चित्रण गरेका छन्।

पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार अध्यक्ष ओलीले ठूलो सङ्ख्यामा रहेका सदस्यलाई चुनावी प्रचारमा प्रत्यक्ष रूपमा सक्रिय गराउन व्यक्तिगत पत्राचारको माध्यम अपनाएका हुन्।

शाहीले यसबाट पार्टी सदस्यहरूले नेतृत्वसँग सिधा सम्पर्कको अनुभूति गर्ने र चुनावी अभियानमा थप ऊर्जा थपिने विश्वास व्यक्त गरे।