देउवाको गर्दनभन्दा माथि १२ वटा टाँका, स्वास्थ्यमा क्रमिक सुधार


काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको छ। कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले देउवाको स्वास्थ्यमा सकारात्मक प्रगति भएको जानकारी दिएका हुन् । उनका अनुसार देउवा सामान्य बोलचाल र हिँडडुल गर्नसक्ने अवस्थामा छन् र पार्टीका अन्य नेताहरूसँग संवाद समेत गरिरहेका छन्।
घटनाको प्रारम्भिक अवस्थालाई लिएर पार्टी पंक्तिमा चिन्ता उत्पन्न भए पनि उपचारको क्रमसँगै देउवाको अवस्था सुधार हुँदै गएको विश्वकर्माले स्पष्ट पारे। उनका अनुसार देउवालाई गर्दनभन्दा माथि गम्भीर चोट लागेको छ, जहाँ १२ वटा टाँका लगाइएको छ। त्यस क्षेत्रको घाउ बिस्तारै निको हुँदै गएको छ भने अन्य चोटपटक सामान्य प्रकृतिका रहेको उनले बताए। तर, उपचार भइरहेको स्थान भने खुलाइएको छैन।
चिकित्सकको भनाइ उदृत गर्दै विश्वकर्माले देउवालाई अझै केही दिन अस्पतालमा राख्नुपर्ने उल्लेख गरे। गत २४ भदौमा बुढानीलकण्ठस्थित देउवाको निवासमा जेनजी समूहले प्रदर्शन गर्ने क्रममा उनीमाथि कुटपिट भएको थियो। गम्भीर घाइते भएका देउवासहित अन्य नेताहरूको सुरक्षाका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार प्रयास गरिएको थियो।