ओलीको चुनौतीः प्रचार होइन, काम र एजेन्डामा सार्वजनिक बहस गरौँ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओलीले निर्वाचनलाई प्रचार र आरोपको खेलमा सीमित नगरी सार्वजनिक बहसमार्फत टुंग्याउनुपर्ने बताएका छन्।
उनले आफू ‘पब्लिक डिबेट’का लागि तयार रहेको स्पष्ट गर्दै देशको नेतृत्व गर्न चाहने सबैसँग आमने सामने बहस गर्न तयार रहेको घोषणा गरेका छन्।
आइतबार बिहान सामाजिक सञ्जालमा ओलीले अहिलेको निर्वाचन देश बनाउने र देश जलाउने प्रवृत्तिबीचको प्रतिस्पर्धा भएको दाबी गरेका छन्। उनका अनुसार एमाले देश निर्माणको पक्षमा उभिएको पार्टी हो र यही विषय जनतासामु स्पष्ट गर्न खुला बहस आवश्यक छ।
सार्वजनिक बौद्धिक वृत्तबाट प्रमुख नेताहरूबीच पारदर्शी बहसको माग उठ्नु स्वाभाविक र सकारात्मक भएको उनले उल्लेख गरेका छन्।
ओलीले सामाजिक सञ्जालमा फ्रेमिङ गरिएका सामग्रीमार्फत मतदातालाई भ्रममा पार्ने प्रयास भइरहेको आरोप लगाउँदै वास्तविक चरित्र लुकाउने यस्तो प्रवृत्तिको अन्त्य बहसमार्फत मात्रै सम्भव हुने बताएका छन्।
शनिबार च्यासलमा पत्रकारहरूसँगको कुराकानीमा पनि उनले आफू पब्लिक डिबेटबाट नभाग्ने स्पष्ट सन्देश दिएका थिए। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ओलीले आफूलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्न थालेका छन्।
यद्यपि एमालेले औपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा भने गरिसकेको छैन। यसैबीच कांग्रेस सभापति गगन थापा, काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन शाह, हर्क साम्पाङ र कुलमान घिसिङलगायतलाई विभिन्न पक्षले प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा अघि सारेका छन्।
ओलीले नेतृत्व दाबी गर्ने दल र व्यक्तिहरूले विगतमा के गरे, देश निर्माणका लागि अब के गर्ने योजना छ भन्ने विषयमा खुला बहस अनिवार्य भएको बताएका छन्।
उनले चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत सबैसँग एउटै मञ्चमा उभिएर सिधा प्रश्न उत्तर गर्ने प्रतिबद्धता व्यक्त गर्दै पब्लिक डिबेट आयोजना गर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन्।













