भीषण हिमपातले अफगानिस्तान तहसनहस, तीन दिनमै ६१ जनाको ज्यान गयो

User Image Prime TV News एक महिना अगाडि
Image of भीषण हिमपातले अफगानिस्तान तहसनहस, तीन दिनमै ६१ जनाको ज्यान गयो

काठमाडौ । अफगानिस्तानमा लगातार तीन दिनदेखि परेको भारी हिमपात र वर्षाले देशका धेरै भागमा विनाश मच्चाएको छ।

अफगानिस्तानको विपद् व्यवस्थापन एजेन्सीका अनुसार यो प्राकृतिक प्रकोपका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।

हिमपात र हिमपहिरोका कारण ४०० भन्दा बढी घर पूर्ण रूपमा ध्वस्त भएका छन्। दुर्गम र पहाडी क्षेत्रमा सञ्चार र यातायात अवरुद्ध भएकाले वास्तविक क्षतिको विवरण अझै संकलन हुन नसकेको जनाउँदै मृतक र घाइतेको संख्या बढ्न सक्ने एजेन्सीले चेतावनी दिएको छ।

भारी हिमपातका कारण राजधानी काबुललाई उत्तरी प्रान्तहरूसँग जोड्ने हिन्दुकुश क्षेत्रको मुख्य राजमार्गसहित धेरै सडक बन्द भएका छन्। यसले राहत, खाद्यान्न र औषधि आपूर्तिमा गम्भीर समस्या सिर्जना गरेको छ।

बामियान, परवान, बल्ख र मैदान वर्दकजस्ता प्रान्तहरूमा जनजीवन अत्यन्त कष्टकर बनेको छ। कठोर जाडो, भत्किएका घर र सीमित उद्धार क्षमताले हजारौँ नागरिक जोखिममा परेका छन्।