सार्वजनिक बहस विवादले चुनावी राजनीति तात्यो, बालेनले गरे ओलीको प्रस्ताव अस्वीकार

User Image Prime TV News एक महिना अगाडि
Image of सार्वजनिक बहस विवादले चुनावी राजनीति तात्यो,  बालेनले गरे ओलीको प्रस्ताव अस्वीकार

काठमाडौ । निर्वाचनको मिति नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच ‘पब्लिक डिबेट’ (सार्वजनिक बहस) हुनुपर्ने विषयले नेपाली राजनीति थप तातिएको छ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक बहसका लागि तयार रहेको घोषणा गरेपछि झापा–५ बाट उनीसँगै चुनावी प्रतिस्पर्धामा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भने यस्तो बहस अस्वीकार गरेका छन्।

एमाले अध्यक्ष ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत देश बनाउने र देश जलाउने शक्तिबीच प्रतिस्पर्धा भइरहेको दाबी गर्दै पारदर्शी बहस आवश्यक रहेको बताएका थिए । उनले सामाजिक सञ्जालमा ‘फ्रेमिङ’ गरेर प्रचार सामग्रीमार्फत वास्तविक चरित्र लुकाउने प्रवृत्ति बढेकाले सार्वजनिक बहसको माग उठेको उल्लेख गरेका छन्।

ओलीले प्रधानमन्त्रीको उम्मेदवार अघि सारेका सबै दल र नेताहरूलाई एउटै मञ्चमा ल्याएर एजेन्डा, विगतका काम र भविष्यको योजना माथि आमनेसामने बहस गर्न आयोजकहरूलाई आग्रह समेत गरेका छन्। “यसअघि हामीले के गर्‍यौँ र अब कसरी काम गर्छौँ भन्ने कुरा तथ्यसहित राख्न म तयार छु,” ओलीले उल्लेख गरेका छन् । 

तर ओलीको प्रस्ताव सार्वजनिक भएलगत्तै बालेन शाहले सामाजिक सञ्जालमै कडा प्रतिक्रिया जनाउँदै ओलीसँगको बहस बहिष्कार गर्ने घोषणा गरेका छन्। ओलीको स्टाटसमा कमेन्ट गर्दै बालेनले २३ गते भएको घटनालाई ‘आतङ्कवाद’ को संज्ञा दिँदै त्यसलाई लुकाउन २४ गतेको घटनालाई प्रयोग गरिएको आरोप लगाएका छन्।

बालेनले लेखेका छन्, “७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।” उनले यस्तो अवस्थामा सार्वजनिक बहस सम्भव नरहेको स्पष्ट पारेका छन्।

ओलीको प्रस्तावलाई केहीले लोकतान्त्रिक अभ्यासका रूपमा हेरेका छन् भने बालेनको कडा अभिव्यक्तिले चुनावी प्रतिस्पर्धा बहसभन्दा पनि आरोप र प्रत्यारोपतर्फ मोडिएको संकेत गरेको छ। सार्वजनिक बहसले मतदातालाई एजेन्डा बुझ्न सहयोग पुर्‍याउने कि विवादले राजनीति झन् ध्रुवीकृत बनाउने भन्ने प्रश्न अहिले चर्चाको केन्द्रमा छ।