राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा १७ पदका लागि मतदान जारी

User Image Prime TV News एक महिना अगाडि
Image of राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा १७ पदका लागि मतदान जारी

काठमाडौ । राष्ट्रियसभामा फागुन २० गतेदेखि रिक्त हुने पद पूर्तिका लागि आज बिहान ९ बजेदेखि सातै प्रदेशमा मतदान सुरु भएको छ। कोशी प्रदेशमा खस आर्य समूहअन्तर्गतको एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेकाले बाँकी १७ पदका लागि निर्वाचन भइरहेको हो।

कोशी प्रदेशमा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान भइरहेको छ भने मधेश प्रदेशमा जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदाताहरू सहभागी भएका छन्।

यस्तै बागमती प्रदेशमा हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय, गण्डकी प्रदेशमा पोखरा कास्कीको प्रदेश निर्वाचन कार्यालय परिसर, लुम्बिनी प्रदेशमा घोराही दाङस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशमा वीरेन्द्रनगर सुर्खेतको प्रदेश निर्वाचन कार्यालय परिसर तथा सुदूरपश्चिम प्रदेशमा धनगढी कैलालीको प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान भइरहेको छ।

यस निर्वाचनमा प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाताका रूपमा सहभागी छन्। निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको सम्बन्धित निर्वाचन कार्यालयहरूले जनाएका छन्।