नेपालले आइसीसी टी-२० विश्वकपअघिको तयारी पूरा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आइसीसी टी-२० विश्वकपअघिको तयारी क्रममा नेपाली क्रिकेट टोलीले सकारात्मक सुरुवात गरेको छ। शनिबार भएको अभ्यास सिरिजको अन्तिम खेलमा नेपालले श्रीलंका ‘ए’ टिमलाई ७ विकेटले पराजित गर्दै जीत हासिल गरेको हो।
नेपालले १३३ रनको लक्ष्य सहजै १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ४९ रन बनाए भने आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले क्रमशः २४* र २२* रनको अविजित योगदान दिए। कप्तान रोहित पौडेलले १७ रन जोड्दै टोलीलाई लक्ष्यतर्फ अघि बढाए।
बलिङतर्फ शेर मल्लले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट लिएर टोलीको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरे। दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए भने नन्दन यादव र रोहित पौडेलले १-१ विकेट हात पारे।
अभ्यास सिरिजका अन्य खेलहरूमा निराशाजनक प्रदर्शन भए तापनि अन्तिम खेलमा जीतपछि नेपाली टोलीको मनोबल उच्च भएको छ। अब नेपाली टोली आफ्नो अन्तिम तयारीका लागि भारतको मुम्बई जानेछ। त्यहाँ टोलीले एमसिए प्रेसिडेन्ट ११ विरुद्ध तीन अभ्यास खेल खेल्ने तालिका तय गरिएको छ। पहिलो खेल माघ १५ मा खेलिनेछ।
नेपालको टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, सन्दीप जोरा, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन्।
नेपाल समूह ‘सी ’ मा रहेको छ। यस समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्। नेपालले आफ्नो पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा, दोस्रो खेल इटालीसँग फेब्रुअरी १२ मा, तेस्रो खेल वेस्ट इन्डिजसँग फेब्रुअरी १५ मा र अन्तिम खेल स्कटल्यान्डसँग फेब्रुअरी १७ मा मुम्बईमा खेल्नेछ।













