सर्लाहीमा मतदानस्थलको सुरक्षा निरीक्षण सुरु, क्षेत्र नम्बर ४ अति संवेदनशील
Prime TV News एक महिना अगाडि 
सर्लाही । यहि २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका मतदानस्थलहरूको स्थलगत सुरक्षा निरीक्षण सुरु गरिएको छ। प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले जिल्लाका संवेदनशील मतदानस्थलहरूको अनुगमन सुरु गरेका हुन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर ४ मा रहेका ८१ वटा मतदानस्थल अति संवेदनशील सूचीमा परेका छन्। यस क्षेत्रबाट नेपाली कांग्रेस सभापति गगनकुमार थापा उम्मेदवार बनेका छन्।
जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काका अनुसार भारतसँग सिमाना जोडिएका क्षेत्रमा सुरक्षा चुनौती देखिएको कारण ती मतदानस्थललाई प्राथमिकतामा राखेर निरीक्षण सुरु गरिएको हो। उनले भने, “हालसम्मको निरीक्षणमा सुरक्षा अवस्था सामान्य देखिएको छ। प्रमुख दलका उम्मेदवारहरू उपस्थित भएकाले अवस्था सामान्य नै रहनेछ।”
सर्लाहीमा कुल ३१२ मतदानस्थलमध्ये १५८ वटा अति संवेदनशील र १३१ वटा संवेदनशील सूचीमा परेका छन्। निर्वाचन क्षेत्र नम्बर ४ राजनीतिक रूपमा पनि चासोको केन्द्र बनेको छ। कांग्रेस सभापति थापाको उम्मेदवारीसँगै यहाँको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका अमरेशकुमार सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चुनावी मैदानमा छन्। निर्वाचनअघि सुरक्षा व्यवस्थामा कडाइ र मतदानस्थलको निगरानीले निर्वाचन सुरक्षित र शान्तिपूर्ण बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।












