एमाले र प्रलोपा तालमेलले कर्णालीमा चुनावी समीकरण फेरियो

User Image Prime TV News एक महिना अगाडि
Image of एमाले र प्रलोपा तालमेलले कर्णालीमा चुनावी समीकरण फेरियो

काठमाडौ । कर्णाली प्रदेशका अधिकांश जिल्लामा आगामी निर्वाचनका लागि नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बिच चुनावी तालमेल हुने भएको छ।

दुई दलबीच भएको सहमतिअनुसार हुम्ला र जुम्ला बाहेकका आठ जिल्लामा संयुक्त रूपमा चुनावी रणनीति अपनाइने छ। तालमेलसम्बन्धी सहमति पत्रमा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाका अध्यक्ष परिषद् सदस्य दुर्गा सोबले हस्ताक्षर गरेका छन्। सहमतिपछि कर्णालीमा दुवै दलले आपसी समन्वयमा उम्मेदवारी व्यवस्थापन गर्ने भएका छन्।

सहमति अनुसार हुम्ला र जुम्लामा भने एमाले र प्रलोपा आ–आफ्नै उम्मेदवारसहित चुनावी प्रतिस्पर्धामा उत्रिनेछन्। हुम्लामा एमालेबाट दल फडेरा र प्रलोपाबाट जटिल कार्की उम्मेदवार छन्। त्यहाँ कांग्रेस, राप्रपा, रास्वपालगायत दलका उम्मेदवारहरू पनि मैदानमा छन्।

जुम्लामा एमालेका शान्तिलाल महत र प्रलोपाका मनऋषि धिताल उम्मेदवार रहेका छन्। जुम्लामा कांग्रेस, माओवादी केन्द्र, राप्रपा, रास्वपा र नेमकिपासहित विभिन्न दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

कर्णाली प्रदेशमा सल्यान, सुर्खेत, रुकुम पश्चिम, जाजरकोट, दैलेख, डोल्पा, कालिकोट, मुगु, जुम्ला र हुम्ला जिल्ला पर्दछन्। सहमति अनुसार सल्यानसहित साविक राप्ती अञ्चलका जिल्लामा प्रलोपाले एमाले उम्मेदवारलाई समर्थन गर्ने छ भने रुकुम पूर्व र पश्चिममा एमालेले प्रलोपाका उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको छ।

हुम्ला र जुम्ला बाहेकका जिल्लामा प्रलोपाले एमालेको चुनाव चिह्नमा मतदान गर्ने सहमतिपछि कर्णालीको राजनीतिक परिदृश्य थप रोचक बनेको छ।