निर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

User Image Prime TV News एक महिना अगाडि
Image of निर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

काठमाडौ ।  निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ । आइतबार काठमाडौंको कान्तिपथस्थीत आयोगको कार्यालयमा स्थापना गरिएको संयुक्त निर्वाचन सञ्चालन केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गरे ।

आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यसहित आयोगका सचिवको संयोजकत्वमा सञ्चालन हुने केन्द्रमा गृह मन्त्रालय, सेना, प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत चारवटै सुरक्षा निकायका प्रतिनिधि रहने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

देशभर स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणका आधारमा सुरक्षा निकायसँग समेत समन्वय गरि निर्वाचनसम्बन्धी वस्तुस्थितिको जानकारी गराउने काम केन्द्रले गर्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए । निर्वाचन क्षेत्रमा देखापर्ने समस्यालाई समाधान गर्ने काम समेत केन्द्रको समन्वयबाट हुने आयोगले जनाएको छ । 

भण्डारीले संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा अनुभवी व्यक्तिहरुलाई समावेश गरेकाले प्रभावकारी रुपमा समस्या समाधान हुने विश्वास व्यक्त गरे ।