कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालबाट १५ केन्द्रीय सदस्य अलग्गिए

User Image Prime TV News एक महिना अगाडि
Image of कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालबाट १५ केन्द्रीय सदस्य अलग्गिए

काठमाडौ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका १५ जना केन्द्रीय सदस्यले पार्टी छाडेको औपचारिक घोषणा गरेका छन्। उनीहरूले आफ्नो आगामी राजनीतिक कदम बारे अहिलेसम्म स्पष्ट भने पारेका छैनन्।

हस्ताक्षररहित जारी विज्ञप्तिमा ती नेताहरूले उल्लेख गरेका छन् कि उनीहरू कुनै दलप्रति समर्थन वा विरोधको दृष्टिकोण नभई, विचार, मूल्य र नागरिक सरोकारका आधारमा सक्रिय रहन चाहन्छन्। विज्ञप्तिमा भनिएको छ, “यसलाई कुनै दलप्रतिको समर्थन वा विरोधका रूपमा नभई नागरिक चेतना र साझा हितको अभ्यासका रूपमा बुझिदिन अनुरोध गर्दछौं।”

पार्टी छाड्नेमा डा. विशाल कुमार भण्डारी, डा. अभिसेकराज सिंह, डा. घनश्याम पाण्डे, डा. सागर ढकाल, विशाल गैरे, सरला लामिछाने, सुजन श्रेष्ठ, कुशुम घिमिरे, क्षितिज भण्डारी, मीनराज आचार्य, रजिया बुनु, निर्देश सिलवाल, देवेन्द्र श्रेष्ठ र संजिव भट्टराई रहेका छन्।

स्रोतका अनुसार, रास्वपा र उज्यालो नेपालको एकता विफल भएपछि यी नेताहरू कुलमान घिसिङप्रति असन्तुष्ट बनेका थिए। उनीहरूको भनाइ अनुसार, पार्टीको अडानमा लचकता देखाइर पनि एकता जोगाउनुपर्नेमा जोड दिइएको थियो।

उज्यालोको कोटाबाट रास्वपामा समायोजन भएकी रिमा विश्वकर्मा भने रास्वपामा नै रहिन्। यस्तै, डा. तारा जोशी र अरविन्द साहलाई रास्वपाले प्रत्यक्ष निर्वाचनमा उठाएको छ। अन्य १५ जना केन्द्रीय सदस्यहरू पनि रास्वपामा समायोजन हुन चाहन्थे। तर, रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले केही नेताहरूलाई केन्द्रीय समितिमा समायोजनको प्रस्ताव राख्दा सभापति रवि लामिछानेले अस्वीकार गरेको बताइएको छ।

उज्यालो नेपालका नेतामध्ये एकजनाले भने, “रास्वपाले उचित स्थान र भूमिका दिएको खण्डमा त्यहि पार्टीमा रहनेछौं, अन्यथा वैकल्पिक राजनीतिमा आफ्नै ढंगले क्रियाशील रहनेछौं।”