राष्ट्रिय सभामा कांग्रेसको दबदबा, कम्युनिष्ट शक्ति खुम्चिँदै दोस्रो स्थानमा

User Image Prime TV News एक महिना अगाडि
Image of राष्ट्रिय सभामा कांग्रेसको दबदबा, कम्युनिष्ट शक्ति खुम्चिँदै दोस्रो स्थानमा

काठमाडौ । आइतबार १८ पदका लागि सम्पन्न निर्वाचनपछि राष्ट्रिय सभाको राजनीतिक शक्ति सन्तुलन उल्टिएको छ।

निर्वाचन परिणामसँगै नेपाली कांग्रेस राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको छ भने लामो समयदेखि पहिलो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टी दोस्रो स्थानमा झरेको छ। 

निर्वाचनमा कांग्रेसका ९ जना उम्मेदवार निर्वाचित भएसँगै राष्ट्रिय सभामा कांग्रेसको सिट संख्या २५ पुगेको छ। यसअघि कांग्रेससँग १६ सिट मात्र थियो। थपिएका सिटसँगै कांग्रेसले स्पष्ट बहुमत नभए पनि निर्णायक प्रभाव जमाउने हैसियत बनाएको छ।

यो निर्वाचन नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच भएको चुनावी तालमेलको परिणाम हो। तालमेलअनुसार कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट जितेका छन्। सत्ता र स्वार्थका आधारमा बनेको यो गठबन्धनले राष्ट्रिय सभाको संरचना नै फेरिदिएको छ।

यस निर्वाचनसँगै तत्कालीन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी सबैभन्दा ठूलो दलको हैसियत गुमाउँदै १८ सिटसहित दोस्रो स्थानमा सीमित भएको छ।

नेकपा एमाले भने ११ सिटसहित तेस्रो स्थानमै अड्किएको छ। यसअघि रहेका ८ सांसद बाहिरिए पनि निर्वाचनबाट पुनः ८ जना निर्वाचित भएपछि एमालेको सिट संख्या यथावत् रहन पुगेको हो।

त्यसैगरी जसपा नेपालका ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद राष्ट्रिय सभामा कायम छन्। यद्यपि निर्वाचनबाट फेरिएको यो नयाँ शक्ति समीकरण आगामी फागुन २० पछि मात्र औपचारिक रूपमा लागू हुनेछ।

संविधानअनुसार ५९ सदस्यीय राष्ट्रिय सभामा ३ सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान छ। ती मनोनयनले पनि आगामी दिनमा राजनीतिक समीकरण थप चर्किन सक्ने संकेत देखिएको छ।