राष्ट्रिय सभामा गठबन्धनको वर्चस्व, सातै प्रदेशमा कांग्रेस र एमालेका उम्मेदवार निर्वाचित

User Image Prime TV News एक महिना अगाडि
Image of राष्ट्रिय सभामा गठबन्धनको वर्चस्व, सातै प्रदेशमा कांग्रेस र एमालेका उम्मेदवार निर्वाचित

काठमाडौ । आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै माथिल्लो सदनको राजनीतिक चित्र प्रस्ट भएको छ।

निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा भएको मतदानबाट नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीचको गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। यसले राष्ट्रिय सभामा विपक्षी शक्तिलाई लगभग शून्य बनाइदिएको छ।

कोशी प्रदेशबाट एमालेकी रोश्नी मेचे र सोमनाथ पोर्तेल तथा कांग्रेसका सुनिलबहादुर थापा निर्वाचित भएका छन्। मधेस प्रदेशमा एमालेकी रेखाकुमारी झा, कांग्रेसका धर्मेन्द्र पासवान र रञ्जित कर्ण तथा जसपा-लोसपा एकीकरणपछि जसपा नेपालको तर्फबाट उम्मेदवार बनेका महन्थ ठाकुर विजयी भएका छन्।

बागमती प्रदेशबाट कांग्रेसकी गीता देवकोटा र एमालेका प्रेमप्रसाद दंगाल राष्ट्रिय सभा सदस्य बनेका छन्। गण्डकी प्रदेशबाट एमालेकी सम्झना देवकोटा र कांग्रेसका जगत तिमिल्सिना निर्वाचित भएका छन्।

लुम्बिनी प्रदेशमा कांग्रेसका वासुदेव घिमिरे र चन्द्रबहादुर केसी विजयी हुँदा कर्णाली प्रदेशबाट एमालेकी मीनासिंह रखाल र कांग्रेसका ललितजंग शाही राष्ट्रिय सभा पुगेका छन्। सुदूरपश्चिम प्रदेशबाट एमालेकी लिलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती निर्वाचित भएका छन्।

आगामी फागुन ११ गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १९ सिटमध्ये १८ सिटका लागि निर्वाचन भएको हो। बाँकी १ सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था छ।