हरिबोल गजुरेलको पक्षमा उभिए झलनाथ, दिए प्रचण्डलाई कडा चेतावनी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टी भित्र आन्तरिक द्वन्द्व सतहमा आएको छ। नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिन्धुलीमा बागी उम्मेदवारलाई साथ दिएको आरोपमा कारबाहीमा परेका नेता हरिबोल गजुरेलको पक्षमा उभिँदै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कडा चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै खनालले पार्टीभित्र एकाध व्यक्तिको इच्छाअनुसार निर्णय थोपर्ने प्रवृत्ति हावी हुँदै गएको आरोप लगाएका छन्।
वरिष्ठ नेता गजुरेललाई स्पष्टीकरण दिने अवसरसमेत नदिई निष्कासनजस्तो कठोर कदम चालिनु पार्टीको घोषित मूल्य र पद्धतिविपरीत भएको उनको भनाइ छ। निर्णयहरू संस्थागत प्रक्रियाबाट नभई सञ्चारमाध्यममार्फत थाहा पाउने अवस्था स्वयं पार्टीका लागि लज्जास्पद भएको खनालको टिप्पणी छ।
खनालले आमनिर्वाचन २०८२ नजिकिँदै गएको, देशभित्र र बाहिरबाट प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेको अवस्थामा कम्युनिष्ट शक्तिहरूबीच नीतिनिष्ठ र दरो एकताको आवश्यकता रहेको दोहोर्याएका छन्। तर एकीकरण घोषणा भएको लामो समय बितिसक्दा पनि नेकपाभित्र नेतृत्वदायी कमिटी गठन नहुनु र सामूहिक निर्णय प्रणाली स्थापित नहुनु गम्भीर समस्या भएको उनले औँल्याएका छन्।
उनले कारबाही तत्काल स्थगित गर्न, हरिबोल गजुरेलसहित शीर्ष नेताहरूको आकस्मिक बैठक बोलाउन र घटनाक्रमबारे पार्टीभित्र गहिरो समीक्षा गर्न माग गरेका छन्। अधिनायकवादी शैली त्यागेर सामूहिक नेतृत्व र सामूहिक निर्णयको अभ्यास नगरे पार्टी एकीकरण अधुरै रहँदै बिखण्डनतर्फ जाने खतरा रहेको खनालको चेतावनी छ।












