घनश्याम भूसालको चेतावनी: चुनावले मात्र संकट टर्दैन, आन्तरिक राजनीति र भूराजनीति झन् चुनौतीपूर्ण बन्दै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा संयुक्तका कार्यबाहक अध्यक्ष घनश्याम भूसालले निर्वाचनपछि पनि देशको संकट तत्काल अन्त्य नहुने भन्दै वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। भिडियो सन्देशमार्फत उनले शान्तिपूर्वक तर सचेत ढंगले आगामी चुनौती सामना गर्न नागरिकलाई आग्रह गरेका हुन्।
भूसालका अनुसार चुनावलाई समाधानको एकमात्र उपाय ठान्नु भ्रमपूर्ण सोच हो। उनले आन्तरिक राजनीतिक अस्थिरता र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय भूराजनीतिक दबाबले आगामी दिनमा देशलाई थप जटिल परिस्थितितर्फ धकेल्न सक्ने बताए।
उनले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको सन्दर्भ उल्लेख गर्दै त्यसलाई जनताको आक्रोशको अभिव्यक्ति माने पनि आन्दोलनको नेतृत्व जनताले होइन, अन्य शक्तिले गरेको दाबी गरे। बानेश्वर पुगेका बेला आफूले पनि नेतृत्व अर्कै पक्षको हातमा गएको देखेको र त्यसकै परिणामस्वरूप भदौ २४ गते प्रधानमन्त्री सुरक्षित स्थानतर्फ जान बाध्य भएको उनको भनाइ छ।
भूसालले नयाँ र पुराना दुवै दललाई समान रूपमा आलोचना गर्दै पुराना दलहरूले आफ्नो असफलता ढाकछोप गर्न निर्वाचनलाई प्रयोग गरिरहेको आरोप लगाए। “पुरानाले राज्यलाई जुवा खेले, त्यसको परिणाम जनआक्रोश हो,” उनले भने, “तर त्यो आक्रोश पनि जेन्जी आन्दोलनको नाममा नियन्त्रण बाहिर गयो।”
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनलाई विदेशी षड्यन्त्र भनेको र नयाँ दलहरूले पुरानाको नालायकी देखाएर राजनीति गरिरहेको सन्दर्भ उल्लेख गर्दै भूसालले दुवै प्रवृत्ति अन्ततः चुनावमै गएर मिल्ने टिप्पणी गरे।












