पार्टी पुनर्गठन अत्यावश्यक भएको भन्दै महामन्त्री थापाले अघि सारे दुई विकल्प


काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठन अत्यावश्यक भएको बताउँदै यसको लागि आफू जस्तोसुकै मूल्य चुकाउन तयार रहेको घोषणा गरेका छन्।
शनिबार राति सार्वजनिक भिडियो सन्देशमार्फत थापाले पार्टीको नीतिगत कमजोरी, विगतका गल्तीहरू सुधार्न र नयाँ विचारलाई अंगाल्दै पार्टीलाई पुनः सबल बनाउनका लागि गम्भीर छलफलको आवश्यकता रहेको बताए।
उनले आफूलाई पदको मोह नरहेको स्पष्ट पार्दै पार्टीको साधारण सदस्य भएर, भुइँमा बसेर पनि योगदान दिन तयार रहेको जनाए। पार्टीभन्दा माथि देश हुने भन्दै कांग्रेसले आफूलाई समर्पित गर्नुपर्ने बेला आएको महामन्त्री थापाको भनाई थियो ।
थापाले पार्टीको संरचनात्मक रूपान्तरणका लागि दुई विकल्प अघि सारेका छन्। पहिलो, पुराना क्रियाशील सदस्यता नवीकरण गरी केही समयका लागि नयाँ सदस्यता खुला गर्ने, पार्टी विधानका केही धाराहरू अस्थायी रूपमा निलम्बन गरी प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाउन सकिने बताए ।
दोस्रो विकल्पको रूपमा विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् । जसबाट पार्टीको समग्र रणनीतिक दिशा र संगठनात्मक संरचना पुनः परिभाषित गर्न सकिने विश्वास व्यक्त गरेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाको स्वास्थ्यको सन्दर्भमा उठेका आलोचनाको जवाफ दिँदै थापाले आफूहरू संवेदनशील रहेको र सभापतिसँगको सल्लाहमै यी विषयहरू उठाइएको जानकारी दिए। उनले पार्टीभित्र सुधारको प्रक्रिया स्वास्थ्य अवस्थाको प्रतीक्षा गरेर रोक्नु नहुने स्पष्ट पार्दै, देउवाकै आग्रहमा अगाडि बढिएको उल्लेख गरे। साथै, थापाले कांग्रेसले समयानुकूल रुपान्तरण नगरे राजनीतिको मूलधारबाट बाहिरिने खतरा रहेको औल्याका छन् ।