मधेश–काठमाडौं सेतु बन्न सर्लाही–४ रोजेको हुँ : कांग्रेस सभापति थापा
Prime TV News एक महिना अगाडि 
सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश र काठमाडौंबीचको दूरी घटाउने उद्देश्यसहित सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएको बताएका छन्।
निर्वाचन क्षेत्र पुगेपछि सोमबार सार्वजनिक भिडियो सन्देशमार्फत उनले मधेशसँगको सम्बन्ध औपचारिकतामा सीमित नराखी व्यवहारिक र गहिरो बनाउने चाहना व्यक्त गरे। मधेशका मुद्दा बुझ्दा देशकै समग्र समस्याको समाधानतर्फ अघि बढ्न सकिने विश्वास उनले व्यक्त गरे।
पहाडी पृष्ठभूमि र काठमाडौंमा हुर्किएको अनुभव उल्लेख गर्दै थापाले उम्मेदवार बनेर मधेशसँग थप नजिकिन चाहेको बताए। मधेशका आवाज राजधानीसम्म पुर्याउने र काठमाडौंका धारणा मधेशसम्म लैजाने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।
थापाले आफूलाई तीनपटक विजयी गराएका काठमाडौं–४ का मतदातालाई धन्यवाद दिँदै त्यहाँ परिवारजस्तै आत्मीयता पाएको बताए। सभापति बनेपछि पनि क्षेत्र परिवर्तन नगर्न सुझाव आएको उल्लेख गर्दै उनले उत्तेजनामा आधारित राजनीतिभन्दा एकता र समझदारीमा आधारित राजनीतिमा आफू विश्वास गर्ने स्पष्ट पारे।
अधिकार र पहिचानको सम्मानबिना दिगो एकता सम्भव नहुने भन्दै उनले मधेशका सवाललाई राष्ट्रिय मुद्दाका रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए।













