घरेलु मैदानमै सकियो नेपाल महिला टोलीको विश्वकप सपना

User Image Prime TV News एक महिना अगाडि
Image of घरेलु मैदानमै सकियो नेपाल महिला टोलीको विश्वकप सपना

काठमाडौ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा घरेलु टोली नेपालले विश्वकप खेल्ने लक्ष्य पूरा गर्न सकेन। सोमबार त्रिवि क्रिकेट मैदानमा भएको निर्णायक खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो हार बेहोरेसँगै नेपाल छनोट चरणबाटै बाहिरिएको हो।

१४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १३.५ ओभरमै ६८ रनमा समेटियो। दबाबपूर्ण अवस्थामा नेपाली ब्याटरहरू लामो समय टिक्न नसक्दा दोस्रो इनिङ्स पूर्ण रूपमा असफल रह्यो। कप्तान इन्दु बर्मा रिटायर्ड आउट भएपछि पुनः ब्याटिङमा फर्कन नसक्नु पनि नेपालका लागि दुर्भाग्यपूर्ण बन्यो।

नेपालका तर्फबाट रोमा थापा १४ रनमा अविजित रहिन्। ओपनर बिन्दु रावल र रुबिना क्षेत्री बाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्। यसअघि नेपालले स्कटल्यान्डलाई २० ओभरमा १४० रनमै अलआउट गरेको थियो। बलिङतर्फ मनीषा उपाध्यायले ४ विकेट लिँदै चम्किइन्। पहिलोपटक ग्लोबल छनोट खेलिरहेकी मनीषाले सुरुआती ओभरमै दुई विकेट लिँदै नेपाललाई आशा दिलाएकी थिइन्।

समूह चरणमा एक खेलमा जित र तीन खेलमा हार बेहोरेको नेपाल २ अंकसहित समूह ‘बी’को चौथो स्थानमा सीमित रह्यो। नेपाल र जिम्बाब्वे समूह चरणबाटै बाहिरिँदा स्कटल्यान्ड, नेदरल्यान्ड र थाइल्यान्ड भने सुपर सिक्समा प्रवेश गरेका छन्।

समूह ‘ए’बाट बंगलादेश, आयरल्यान्ड र अमेरिका सुपर सिक्समा पुगेका छन्। घरेलु मैदानमा ऐतिहासिक उपलब्धि हासिल गर्ने नेपाली टोलीको आशा यस पटक पनि समूह चरणमै समाप्त भएको छ।