अमेरिकाद्वारा भारतीय वस्तुमा ५० प्रतिशत भन्सार शुल्क लागू


काठमाडौ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा उत्पादित सबै वस्तुहरूमा ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा कार्यान्वयनमा ल्याएका छन्। भारतले रूसी कच्चा तेलको खरिद जारी राखेपछि ट्रम्प प्रशासनले यो निर्णय गरेको हो।
ट्रम्पले जुलाईको अन्त्यमा भारतबाट आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। तर भारतले रूसी तेल किनिरहेकै कारण उनले थप २५ प्रतिशत शुल्क थप्ने चेतावनी दिएका थिए। सोही अनुसार वासिङटनको स्थानीय समयअनुसार बुधबार बिहान १२स्०१ बजेबाट नयाँ शुल्क लागू भएको हो।
यो शुल्कले इलेक्ट्रोनिक्स र औषधीजन्य वस्तुमा भने प्रभाव पार्ने छैन। यसले भारतमा उत्पादन गरिरहेका अन्तर्राष्ट्रिय कम्पनीहरू, विशेषतः एप्पल, लाई राहत दिएको छ।
ट्रम्पले भारतमाथि लगाएको भन्सार दर एसियामै सबैभन्दा उच्च भएको जनाइएको छ। भारतले रूसी तेल किनिरहेकामा कारवाही स्वरूप यी शुल्क लगाइए पनि, ट्रम्पले चीनजस्ता अरू रूसी तेल आयातकर्तामाथि भने त्यस्तो कदम चालेका छैनन्।
विश्लेषकहरूका अनुसार, ट्रम्पको यो कदमले भारत(अमेरिका आर्थिक सम्बन्धमा असर पर्नसक्छ। न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार, उच्च भन्सारले भारतीय निर्यातकर्तालाई क्षति पुर्याउनुका साथै भारतको सेयर बजार र विदेशी लगानीमा पनि अस्थिरता ल्याउनेछ।
रूसी तेल किन्दाको फाइदा अम्बानीलाई
सन् २०२२ मा युक्रेन युद्ध सुरु भएपछि पश्चिमा मुलुकहरूले रूसी तेलमाथि प्रतिबन्ध लगाएका थिए। तर भारतले ती प्रतिबन्धको बाबजुद सस्तो मूल्यमा रूसी कच्चा तेल किनिरहेछ। द बिजनेस स्ट्यान्डर्डका अनुसार, भारतमा सातवटा तेल प्रशोधन कम्पनीहरूद्वारा रूसी तेल खरिद गरिए पनि रिलायन्स इन्डस्ट्रीज र नायरा एनर्जीले मात्र कुल ४० प्रतिशत हिस्सा ओगटेका छन्।
नायरा एनर्जीमा रसियाली सरकार स्वामित्वको तेल कम्पनी रसनेफ्टको झण्डै ५० प्रतिशत लगानी रहेको छ। यी दुई कम्पनीले सस्तोमा किनेको रूसी तेल प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा पुनः निर्यात गर्ने गरेका छन्। भारत पेट्रोलियम पदार्थको आयातकर्ता भए पनि अहिले निर्यातकर्ताको रूपमा देखा परेको छ। भारतको कुल तेल निर्यातमा रिलायन्सको हिस्सेदारी ७१ प्रतिशत रहेको छ।
१६ अर्ब डलर मुनाफा, ६ अर्ब अम्बानीलाई
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार, भारत निकटका तेल व्यापारीहरूले रूसी तेलबाट अघिल्ला तीन वर्षमा करिब १६ अर्ब डलर मुनाफा कमाएका छन्। फाइनान्सियल टाइम्सको रिपोर्टमा तीमध्ये झण्डै ६ अर्ब डलर मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रीजले कमाएको उल्लेख छ।
भारतले भने आफ्नो क्रय मूल्य पश्चिमी मुलुकद्वारा तोकिएको प्रति ब्यारेल ६० डलरभन्दा कममै रहेको र अमेरिका लगायत पश्चिमा राष्ट्रको सल्लाहअनुसार नै रूसी तेल किनिरहेको दाबी गर्दै आएको छ। विश्लेषकहरू भन्छन्, यदि भारतले रूसी तेल किनेन भने तेलको मूल्य झनै महँगो हुने सम्भावना थियो।
तर, भारतले रूसी तेलबाट भएको फाइदा मुख्यतः निजी क्षेत्र, विशेषतः सरकारसँग निकट भनिएका कम्पनीमा केन्द्रित भएको देखिएको छ। यही कारण ट्रम्प प्रशासनले भारतलाई मात्र निशाना बनाएको हुनसक्ने बताइएको छ। ( अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको )