गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णयमा असहमति छैन : मीन विश्वकर्मा

User Image Prime TV News एक महिना अगाडि
Image of गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णयमा असहमति छैन : मीन विश्वकर्मा

काठमाडौ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने पार्टी निर्णयमा आफूहरूको असहमति रहेको भन्ने प्रचार गलत भएको स्पष्ट पारेका छन्।

पूर्व सभापति शेरबहादुर देउवा कार्यकालमा कांग्रेसका प्रचार विभाग प्रमुख रहेका विश्वकर्माले पार्टी केन्द्रीय कार्यसमितिको निर्णय सबैले मान्नुपर्ने उल्लेख गर्दै हालका सभापति थापा प्रधानमन्त्रीको उम्मेदवार बनेकामा आफूहरूको पूर्ण सहमति रहेको बताएका हुन्।

सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै उनले एक मिडियासँगको कुराकानीलाई गलत आशयका साथ प्रस्तुत गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन्। ‘भावी प्रधानमन्त्री गगन थापाका सन्दर्भमा संसदीय दलमा चुनाव भए के हुन्छ भन्ने प्रश्नमा जो जित्छ, उही दलको नेता र प्रधानमन्त्री हुन्छ भन्ने मेरो जवाफलाई “हाम्रो असहमति छ” भन्ने वाक्यांश जोडेर प्रचार गरिएको छ,’ उनले लेखेका छन्।

उनले पार्टीले औपचारिक रूपमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरिसकेको उल्लेख गर्दै केन्द्रीय समितिको निर्णय पालना गर्न सबै बाध्य रहेको स्पष्ट पारेका छन्। ‘पार्टीको निर्णय नमान्ने कसैलाई छुट हुँदैन,’ उनले भनेका छन्।

यस क्रममा विश्वकर्माले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विषय अदालतमा विचाराधीन रहे पनि पार्टीभित्र हाल कुनै मतभेद नरहेको दाबी गरेका छन्। आगामी निर्वाचनमा बहुमत ल्याउने लक्ष्यमा कांग्रेस एकजुट रहेको उनको भनाइ छ।

‘पार्टीसम्बन्धी विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुगेको अवस्थामा पनि निर्वाचनमा असर नपरोस् भनेर उम्मेदवार छनोटमा सहमति गरियो र देशभर कांग्रेसजनले रुख चिह्नमा निर्विवाद मत माग्ने वातावरण बनाइएको सर्वविदितै छ,’ उनले लेखेका छन्। 

विश्वकर्माले अहिले कांग्रेसभित्र कुनै आन्तरिक मतभेद नरहेको र सम्पूर्ण ध्यान आगामी निर्वाचनमा रुख चिह्नमा बहुमत ल्याउनेतर्फ केन्द्रित रहेको जिकिर गरेका छन्।