फागुन २१ को चुनावमा केन्द्रित हुन कांग्रेसको निर्देशन, ७७ जिल्लालाई परिपत्र

User Image Prime TV News एक महिना अगाडि
Image of फागुन २१ को चुनावमा केन्द्रित हुन कांग्रेसको निर्देशन, ७७ जिल्लालाई परिपत्र

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले देशभरका ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र जारी गरेको छ।

पार्टीले विशेष महाधिवेशनपछि देखिएका मतभेद र असन्तुष्टि थाँती राखेर चुनावी अभियानमा पूर्ण रूपमा केन्द्रित हुन निर्देशन दिएको छ।

महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेद्वारा जारी परिपत्रमा विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका, सहमत तथा असहमत सबै नेता कार्यकर्तालाई जित हारको बहसभन्दा माथि उठेर पार्टीको विधि र विधानलाई स्वीकार गर्न आग्रह गरिएको छ।

कांग्रेसले यो समय आन्तरिक द्वन्द्वमा फस्ने नभई जनतामाझ जानुपर्ने निर्णायक घडी भएको स्पष्ट पारेको छ। परिपत्रमा विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन भइसकेपछि कांग्रेस नयाँ ऊर्जा र आत्मविश्वासका साथ निर्वाचनमा होमिएको उल्लेख गरिएको छ।

पार्टीले आफू रुपान्तरण र सुधारको यात्रामा प्रवेश गरिसकेको दाबी गर्दै सबै तहका नेता कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेको छ।

हालको राजनीतिक परिस्थितिमा कांग्रेसलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेताहरूको साथ र सहयोग रहने विश्वाससमेत परिपत्रमा व्यक्त गरिएको छ। पार्टीको लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा स्वीकार गर्दै सबैले साझा लक्ष्यका लागि काम गर्ने अपेक्षा कांग्रेस नेतृत्वले राखेको छ।

विगतका कमजोरीलाई आत्मालोचना र समीक्षामार्फत पहिचान गरिएको उल्लेख गर्दै परिपत्रमा अबसम्मका उपलब्धिलाई संस्थागत गर्ने संकल्प दोहोर्‍याइएको छ।

विशेषगरी भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको प्रदर्शनपछि उत्पन्न संवेदनशील राजनीतिक अवस्थामा कांग्रेसले उच्च मनोबल, अनुशासन र जिम्मेवारी देखाउन नसके चुनावी क्षति बेहोर्नुपर्ने चेतावनीसमेत दिइएको छ।