तोकिएको समयमा निर्वाचन हुन नसके संसद् पुनर्स्थापना: डा. शेखर कोइराला

User Image Prime TV News एक महिना अगाडि
Image of तोकिएको समयमा निर्वाचन हुन नसके संसद् पुनर्स्थापना: डा. शेखर कोइराला

काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले निर्वाचनको आवश्यक वातावरण बनाउन पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन् ।

तोकिएको समयमा निर्वाचन गराउने चाहना हुँदाहुँदै पनि सरकारको अकर्मण्यताले देशलाई संवैधानिक संकटतर्फ धकेलिएको उनले स्पष्ट शब्दमा बताएका छन् ।

बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. कोइरालाले संविधानलाई सहि ट्रयाकमा फर्काउन फागुन २१ गते निर्वाचन गर्नुको कुनै विकल्प नरहेको बताए । सरकार गठन भएयता नै संविधान क्रमशः ट्रयाकबाहिर गएको उनको ठोकुवा थियो ।

फागुन २१ गते निर्वाचन नभए देश झन् गम्भीर संवैधानिक संकटमा फस्ने भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी सरकारकै हुने उनले चेतावनी दिए । तोकिएको समयमा निर्वाचन हुन नसके संसद् पुनर्स्थापनाको सम्भावना बलियो बन्दै जाने पनि डा. कोइरालाको भनाइ छ ।

उनका अनुसार यो अवस्था लोकतन्त्रका लागि अस्वस्थ र खतरनाक हुनेछ, जसको परिणाम गम्भीर राजनीतिक अस्थिरतामा देखिन सक्छ । फरक प्रसङ्गमा उनले नेपाली कांग्रेसको आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्नेमा ढुक्क रहन आग्रह गरे ।

पार्टीभित्र अनावश्यक भ्रम फैलाउने प्रयास भइरहेको संकेत गर्दै उनले विधानअनुसार शेरबहादुर देउवा पुनः सभापतिको उम्मेदवार बन्न नमिल्ने स्पष्ट पारे ।