पश्चिमी वायुको प्रभाव अझै सक्रिय, विभिन्न प्रदेशमा वर्षाको सम्भावना
Prime TV News एक महिना अगाडि काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभाव अझै सक्रिय रहेकाले देशका विभिन्न भूभागमा मौसम अदलवदल हुने जनाएको छ ।
महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा तुवाँलो लागेकाले बिहानको समयमा दृश्यता निकै कमजोर बनेको छ । जसले सडक र हवाई यातायात प्रभावित हुन सक्ने देखिएको छ ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल बाक्लिँदै जानेछ । ती क्षेत्रका केही स्थानमा हल्का हिमपातसहित वर्षा हुने सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका अन्य भूभागमा चट्याङसहित हल्का वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । राति मौसम झन् खराब हुने अनुमान छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम हिमपातसहित वर्षा हुने सम्भावना रहेको छ । यसले हिमाली क्षेत्रमा जनजीवन कष्टकर बनाउने र यातायात अवरुद्ध हुने जोखिम बढाएको छ । पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र तराई क्षेत्रमा हल्का वर्षा हुन सक्ने महाशाखाको भनाइ छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा चट्याङको सम्भावना समेत रहेकाले खुला स्थानमा नबस्न, पहिरो जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन र आवश्यक नपरे यात्रा नगर्न महाशाखाले चेतावनी दिएको छ ।













