अमेरिकामा शताब्दीकै भीषण हिउँदे आँधी, जनजीवन ठप्प, २९ जनाको मृत्यु
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अमेरिकाको उत्तर–पूर्वी तथा दक्षिणी क्षेत्रलाई समेट्दै आएको शताब्दीकै शक्तिशाली हिउँदे आँधीले देशभर जनजीवन लगभग ठप्प बनाएको छ।
भीषण हिमपात, कठोर चिसो र फ्रिजिङ रेनका कारण हालसम्म कम्तीमा २९ जनाको मृत्यु भइसकेको छ भने लाखौँ मानिस अन्धकार र जाडोमा बाँच्न बाध्य छन्।
यो आँधी अर्कानासदेखि न्यु इङ्ल्यान्डसम्म करिब २ हजार १०० किलोमिटर क्षेत्रमा फैलिएको छ। धेरै स्थानमा एक फिटभन्दा बढी हिउँ जम्दा मुख्य राजमार्गदेखि स्थानीय सडकसम्म सवारी साधन अलपत्र परेका छन्। हजारौँ उडान रद्द भएका छन् भने विद्यालय, विश्वविद्यालय र सरकारी कार्यालयहरू बन्द गरिएका छन्।
मौसम विभागका अनुसार पिट्सबर्गको उत्तरी क्षेत्रमा २० इन्चसम्म हिउँ परेको छ भने तापक्रम माइनस ३१ डिग्री सेल्सियससम्म झरेको छ। न्युयोर्क सहरमा पछिल्ला वर्षहरूकै उच्च हिमपात रेकर्ड गरिएको छ।
सेन्ट्रल पार्कमा ११ इन्च हिउँ जम्दा सडक खुले पनि फुटपाथमा घुँडासम्म हिउँ जमेकाले सर्वसाधारणलाई हिँडडुल नै कठिन भएको छ। मेट्रो सेवा ढिलाइ र अव्यवस्थाले ग्रस्त छ।
दक्षिणी राज्यहरूमा अवस्था झनै गम्भीर छ। फ्रिजिङ रेनका कारण रुख र बिजुलीका पोल ढल्दा ७ लाख ५० हजारभन्दा बढी घरधुरीमा विद्युत सेवा अवरुद्ध भएको छ। मिसिसिपी र टेनेसीका बासिन्दा कठ्यांग्रिने चिसोमा बिजुलीविहीन रात बिताउन बाध्य छन्। मिसिसिपीमा सन् १९९४ यताकै सबैभन्दा खतरनाक आँधी मानिएको छ। मिसिसिपी विश्वविद्यालय हप्ताभर बन्द गरिएको छ।
मृतकहरूमध्ये न्युयोर्कमा अत्यधिक चिसोका कारण आठ जनाको ज्यान गएको छ। म्यासाचुसेट्स र ओहायोमा हिउँ सफा गर्ने मेसिनले किचेर दुई जनाको मृत्यु भएको छ।
अर्कानास र टेक्ससमा हिउँमा खेल्ने क्रममा दुई किशोरको ज्यान गएको छ। कान्सासमा २८ वर्षीया शिक्षिकाको शव हिउँमा पुरिएको अवस्थामा फेला परेको छ। लुइजियाना, पेन्सिलभेनिया र टेनेसीमा तीन–तीन जना, मिसिसिपीमा दुई र न्युजर्सीमा एक जनाको मृत्यु भएको छ।
अमेरिकाका ४८ मुख्य राज्यहरूको औसत न्यूनतम तापक्रम माइनस १२.३ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ, जुन सन् २०१४ पछिकै सबैभन्दा कम हो।
हवाई सेवा पनि गम्भीर रूपमा प्रभावित भएको छ। एकै दिन ८ हजारभन्दा बढी उडान ढिला वा रद्द भएका छन्। आइतबार मात्रै ४५ प्रतिशत उडान रद्द हुनु कोरोना महामारीपछिको सबैभन्दा ठूलो अवरोध मानिएको छ।
यसैबीच, ह्वाइट हाउसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले संकटलाई गम्भीर रूपमा लिँदै अर्कानास, जर्जिया, केन्टकी, मिसिसिपी र टेनेसीसहित १२ राज्यमा संघीय आपतकालीन विपद् घोषणा स्वीकृत गरेका छन्।













