इरानविरुद्ध आक्रमणमा आफ्नो भूमि, हवाई क्षेत्र वा जलक्षेत्र प्रयोग गर्न नदिने घोषणा

User Image Prime TV News एक महिना अगाडि
Image of इरानविरुद्ध आक्रमणमा आफ्नो भूमि, हवाई क्षेत्र वा जलक्षेत्र प्रयोग गर्न नदिने घोषणा

काठमाडौ । संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानविरुद्ध हुने कुनै पनि सैन्य आक्रमणमा आफ्नो भूमि, हवाई क्षेत्र वा जलक्षेत्र प्रयोग गर्न नदिने स्पष्ट घोषणा गरेको छ।

सोमबार विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यूएईले इरानमाथि गरिने कुनै पनि सैन्य कारबाहीका लागि रसद सहयोगसमेत नदिने कडा अडान सार्वजनिक गरेको हो।

विज्ञप्तिमा यूएईले क्षेत्रीय तनाव थप भड्काउने कुनै कदममा सहभागी नहुने स्पष्ट गर्दै आफ्नो भूमिबाट इरानविरुद्ध आक्रमण हुन नदिने दोहोर्‍याएको छ। खाडी क्षेत्रमा युद्धको सम्भावना बढिरहेका बेला आएको यो भनाइलाई यूएईको स्पष्ट राजनीतिक र कूटनीतिक सन्देशका रूपमा हेरिएको छ।

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीहरूमाथि दमन भइरहेको आरोप लगाउँदै अमेरिका इरानको गतिविधि नजिकबाट नियालिरहेको बताएका थिए। उनले अमेरिकी सेनाको ठूलो टोली खाडी क्षेत्रतर्फ पठाइँदै गरेको अभिव्यक्ति दिएपछि क्षेत्रीय तनाव अझ चर्किएको थियो।

खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डामध्ये यूएईको राजधानी अबुधाबी नजिकैको अल धाफ्रा एयर बेसमा हजारौँ अमेरिकी सैनिक तैनाथ छन्। तर यति ठूलो अमेरिकी सैन्य उपस्थितिका बाबजुद पनि यूएईले इरानविरुद्ध आक्रमणमा आफ्नो क्षेत्र प्रयोग गर्न नदिने निर्णय लिनु अर्थपूर्ण मानिएको छ।