प्रधानमन्त्री कार्कीले काठमाडौ–तराई मधेस द्रुतमार्गको स्थलगत निरीक्षण

User Image Prime TV News एक महिना अगाडि
Image of प्रधानमन्त्री कार्कीले काठमाडौ–तराई मधेस द्रुतमार्गको स्थलगत निरीक्षण

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को मंगलबार स्थलगत निरीक्षण गरेकी छन्। बिहान ललितपुरको खोकनाबाट सुरु भएको निरीक्षणमा प्रधानमन्त्री कार्कीसँगै भौतिक पूर्वाधार मन्त्री माधव चौलाई, परराष्ट्र मन्त्री बालानन्द शर्मा तथा नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल सहभागी थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको द्रुतमार्गको निर्माण कार्यको प्रगति र चुनौतीबारे स्थलगत अवलोकन गरिएको हो। हाल यो आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ।

नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार खोकनादेखि बाराको निजगढसम्म द्रुतमार्गको कुल लम्बाइ ७०.९७ किलोमिटर रहेको छ। हालसम्म विशेष प्रकृतिका १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन्, जसमा केही पुलको उचाइ ८२ मिटरसम्म रहेको छ।

आयोजनाअन्तर्गत विभिन्न खण्डमा करिब १३ किलोमिटर लम्बाइका ८९ वटा पुल निर्माण गर्ने तयारी भइरहेको छ। कुल ३३.६२ प्रतिशत खण्डमा पुल र सुरुङ निर्माण कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ। सबै पुलको कुल लम्बाइ १२.८८५ किलोमिटर हुने बताइएको छ।

यद्यपि, काठमाडौ तर्फको प्रस्थान बिन्दु खोकनामा जग्गा अधिग्रहणसम्बन्धी समस्या समाधान हुन नसक्दा निर्माण कार्य अघि बढ्न सकेको छैन। सो क्षेत्रमा निर्माण हुने चार वटा पुलको ठेक्का प्रक्रिया समेत सुरु हुन सकेको छैन।

द्रुतमार्गको केही खण्डमा सडक कालोपत्रे गर्ने काम सुरु भइसकेको छ। साथै, निर्माणाधीन सात वटा सुरुङमध्ये दुई वटा सुरुङ छिचोलिसकिएको छ। लेनडाँडामा १ किलोमिटर ६२२ मिटर र धेद्रेमा १ किलोमिटर ६९० मिटर लम्बाइका सुरुङ छिचोलिएका हुन्। हाल ती सुरुङमा भित्तो प्लास्टरको काम भइरहेको छ।

आयोजनाअन्तर्गत कुल सात वटा सुरुङ निर्माण भइरहेका छन्, जसको कुल लम्बाइ १०.९७९ किलोमिटर रहेको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार द्रुतमार्ग सञ्चालनमा आएपछि दैनिक पाँच हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुने अनुमान गरिएको छ। यस मार्ग प्रयोग गर्दा काठमाडौँबाट तराई एकदेखि डेढ घण्टामै पुग्न सकिनेछ।