सर्लाहीमा माओवादी पृष्ठभूमिका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश
Prime TV News एक महिना अगाडि 
सर्लाही । सर्लाहीमा क्रियाशील नेपाली कम्युनिस्ट पार्टीका केही नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। तत्कालीन नेकपा माओवादी केन्द्रको मधेस प्रदेश कमिटीका एक सदस्यसहित करिब एक दर्जन नेता–कार्यकर्ता कांग्रेसमा समाहित भएका हुन्।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत धनकौलमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन्। कार्यक्रममा नवप्रवेशीहरूलाई टीका तथा माला लगाएर स्वागत गरिएको थियो।
कांग्रेसमा प्रवेश गर्नेहरूमध्ये २०७९ सालको प्रदेशसभा निर्वाचनमा सर्लाही ४ (ख) बाट उम्मेदवार बनेका तथा तत्कालीन माओवादी केन्द्रको मधेस प्रदेश कमिटी सदस्य महेन्द्र यादव प्रमुख छन्। यादवसँगै रामशंकर साह, सुमित साह, मोहन राय यादव, दीपक यादव, पोष्टनारायण यादव, रविराजन अधिकारी, विदा मियाँ, सुरेन्द्र साह लगायतका नेता–कार्यकर्ता कांग्रेसमा आबद्ध भएका छन्।
कार्यक्रममा बोल्दै सभापति थापाले लोकतन्त्र सुदृढ गर्न कांग्रेसको भूमिका अझ बलियो बनाउनुपर्ने उल्लेख गर्दै पार्टीमा नयाँ साथीहरूको आगमनले संगठन थप सशक्त हुने विश्वास व्यक्त गरे।












