निर्वाचन आयोगले चार उम्मेदवारलाई स्पष्टीकरण सोध्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । निर्वाचन आयोगले रास्वपा वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र स्वतन्त्र उम्मेदवार कमल भुसाल (निकोलस) लाई स्पष्टीकरण सोधेको छ। आयोगले चारै जना उम्मेदवारमाथि अभिव्यक्ति र निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी विषयमा स्पष्ट जवाफ मागेको छ।
बालेन शाह झापा–५ बाट उम्मेदवार छन्। उनका विरुद्ध उजुरी आयोगमा दर्ता भएको थियो, जसमा उनका सामाजिक सञ्जालमार्फत गरिएको अभिव्यक्तिलाई घृणात्मक, भ्रामक र मानहानिकारक भएको आरोप छ।
उजुरीमा उल्लेख गरिएको छ कि एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको तथ्यमा आधारित र बौद्धिक पब्लिक डिबेटको सन्दर्भमा बालेनले दिएको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको छ। उजुरीमा विशेषगरी बालेनले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्दहरू बिना प्रमाणको आपराधिक आरोप ठहर गरिएको छ।
एमाले सचिव महेश बस्नेत भक्तपुर–२ बाट उम्मेदवार छन्। उनका विरुद्ध उजुरी बालेन शाहको भाषणको केही शब्दलाई अनर्थ लगाउने गरी व्याख्या गरेको र मधेसी समुदायमाथि अपमानजनक अभिव्यक्ति दिएको आरोपमा परेको छ। बालेनले भाषणमा प्रयोग गरेको ‘छौरा’ शब्दलाई बस्नेतले गलत अर्थमा लगाएको भन्दै विवाद उत्पन्न भएको थियो।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ बाट उम्मेदवार छन्। उनलाई निर्वाचनमा बालबालिकाको प्रयोगसम्बन्धी विषयमा स्पष्टीकरण सोधिएको छ। आयोग स्रोतका अनुसार आज उनलाई स्पष्टीकरणको पत्र पठाइएको छ।
स्वतन्त्र उम्मेदवार कमल भुसाल (निकोलस) रूपन्देही–२ बाट उम्मेदवार छन्। आयोगले उनलाई दुई वटा चुनाव चिह्न प्रयोग गरी प्रचार गरेको पाइएको भन्दै स्पष्टीकरण सोधेको हो। निर्वाचन आयोगका अनुसार चारै जना उम्मेदवारलाई स्पष्टीकरण दिन तीन दिनभित्र जवाफ बुझाउन भनिएको छ।












