भारत र युरोपेली सङ्घबीच बहुप्रतीक्षित व्यापार सम्झौता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । भारत र युरोपेली सङ्घ (ईयू)बीच करिब दुई दशकदेखि चलेको वार्तापछि अन्ततः विशाल र बहुप्रतीक्षित व्यापार सम्झौता सफलतापूर्वक सम्पन्न भएको छ। नयाँदिल्लीमा भएको उच्चस्तरीय भेटमा दुवै पक्षका नेताहरूले यस सम्झौतामा औपचारिक रूप दिनुका साथै यसलाई “सबै सम्झौताको जननी”को रूपमा व्याख्या गरेका छन्।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। प्रधानमन्त्री मोदीले सोमबार सम्पन्न सम्झौताले विश्वका दुई प्रमुख अर्थतन्त्र अमेरिका र चीनबाट सिर्जित चुनौतीको सामना गर्न दुवै पक्षलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री मोदीका अनुसार, यो सम्झौताले भारतका करिब १.४ अर्ब नागरिक र ईयूका लाखौँ जनताका लागि नयाँ सम्भावना र अवसरहरू खोल्नेछ। उनले यस सम्झौताले विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब २५ प्रतिशत र विश्व व्यापारको करिब एक तिहाइ हिस्सा प्रतिनिधित्व गर्ने उल्लेख गरे।
सन् २०२४ मा भारत र ईयूबीचको सामानको द्विपक्षीय व्यापार १ खर्ब २० अर्ब युरो पुगेको छ । जुन पछिल्लो एक दशकमा झण्डै ९० प्रतिशतले वृद्धि भएको हो। सेवाहरूको व्यापारमा करिब ६० अर्ब युरो थप कारोबार भएको छ। सम्झौता अनुसार, भारतले कपडा, औषधि लगायतका उत्पादनहरूलाई युरोपेली बजारमा सहज पहुँच दिने सर्तमा कार, वाइन लगायतका प्रमुख युरोपेली उत्पादनका लागि आफ्नो बजार खुला गर्नेछ।













