कुलमान घिसिङको घोषणा : उज्यालो नेपाल पार्टी अब कसैसँग विलय हुँदैन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी सँग गरिएको एकता प्रयास असफल भएको स्वीकार गर्दै त्यसलाई राजनीतिक ‘दुर्घटना’ का रूपमा व्याख्या गरेका छन्। उनले अब पार्टीको पहिचान जोगाउँदै स्वतन्त्र रूपमा अघि बढ्ने स्पष्ट संकेत दिएका छन्।
घिसिङले अब कुनै पनि दलसँग पार्टीको नाम र चुनाव चिन्ह विलय नहुने स्पष्ट पारे। रास्वपासँग भएको छोटो समयको सहकार्य सम्झिँदै उनले उक्त १२ दिनलाई पार्टीका लागि सबैभन्दा कठिन समयको रूपमा उल्लेख गरे।
‘पार्टी स्थापना भएको केही महिनामै हामी कोमाजस्तै अवस्थामा पुग्यौँ,’ उनले भने, ‘तर अहिले हामी पुनः सक्रिय भएर जनतामाझ फर्किएका छौँ। अब हाम्रो नाम र चिन्ह सुरक्षित राख्दै अघि बढ्छौँ।’ उनले अन्य राजनीतिक दलहरू आफ्नो पार्टीमा समाहित हुन सक्ने तर आफूहरू अरू कुनै दलमा मिसिन नसक्ने अडान दोहोर्याए।
आगामी प्रतिनिधि सभा निर्वाचनमा उज्यालो नेपाल पार्टीका तर्फबाट १२१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएको जानकारी दिँदै घिसिङले मतदातालाई परिवर्तनको पक्षमा मतदान गर्न आग्रह गरे। उनले पछिल्ला दिनमा देखिएको खर्चिलो र तडकभडकयुक्त चुनावी अभियानप्रति असन्तुष्टि जनाउँदै सादा, पारदर्शी र कम खर्चिलो चुनाव आवश्यक रहेको बताए।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा रहँदा लोडसेडिङ अन्त्य गरेर मुलुकलाई उज्यालो बनाएको अनुभव स्मरण गर्दै घिसिङले अब सोही सोच र कार्यशैली राजनीतिक क्षेत्रमा पनि लागू गर्ने दाबी गरे। मुलुकको दिगो विकासका लागि ‘उज्यालो नेपाल’ नै व्यवहारिक विकल्प भएको उनको भनाइ थियो।












