टेरामक्स खरिद प्रकरणमा उपकरण परीक्षणका लागि विशेष अदालतको आदेश

User Image Prime TV News एक महिना अगाडि
Image of टेरामक्स खरिद प्रकरणमा उपकरण परीक्षणका लागि विशेष अदालतको आदेश

काठमाडौ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसँग जोडिएको टेरामक्स खरिद भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्राविधिक परीक्षण अघि बढाउने निर्णय गरेको छ। अदालतले सम्झौताअनुसार उपकरण जडान भए–नभएको यकिन गर्न विज्ञ समूह गठन गर्ने आदेश दिएको हो।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले टेरामक्स प्रणालीको वास्तविक अवस्था र गुणस्तर परीक्षण आवश्यक रहेको ठहर गर्दै विशेषज्ञ समिति गठन गर्न निर्देशन दिएको हो।

अदालतको आदेशअनुसार नेपाल दूरसञ्चार प्राधिकरणका विषयविज्ञ वरिष्ठ इन्जिनियरको नेतृत्वमा त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ क्याम्पसका टेलिकम्युनिकेसन तथा इलेक्ट्रोनिक्स विषयका प्राध्यापक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का विज्ञ सदस्य रहने गरी समिति बनाइएको छ।

अभियोग पत्रमा टेरामक्स प्रणाली खरिदका लागि एक अर्ब ११ करोड ६५ लाख ५२ हजार १४३ रुपैयाँ भुक्तानी भएको उल्लेख गरिएको छ। यता, आपूर्तिकर्ता कम्पनीले भने सम्झौताअनुसार सम्पूर्ण उपकरण जडान गरिसकेको दाबी गर्दै आएको छ।

विशेष अदालतले विज्ञ समूहलाई आपूर्ति तथा जडान भएको उपकरण र प्रणाली सम्झौतामा उल्लेखित गुणस्तर, मापदण्ड र प्राविधिक सर्त पूरा भए–नभएको परीक्षण गरी विस्तृत प्रतिवेदन पेश गर्न आदेश दिएको छ। प्राविधिक परीक्षण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टेलिकम्युनिकेसन विज्ञ केशव ज्ञवाली र आपूर्तिकर्ता कम्पनी भेमराई सोलुसनका आधिकारिक प्रतिनिधिको रोहवरमा गराइने बताइएको छ।

यसै क्रममा २०८० पुस १२ गते प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई खरिद प्रक्रिया यथास्थितिमा राख्न दिएको निर्देशनसम्बन्धी फाइलको प्रतिलिपि समेत अदालतले झिकाउन आदेश दिएको छ।